काठमाडौँ । एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित भएका छन् । साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै बुधबार उनी प्रहरीमा उपस्थित भएका हुन् ।
यसअघि साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन् ।
महरविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएसँगै उनी बुधबार अदालतमा उपस्थित भएको ब्युरोका एसपी दिपक राज अवस्थीले जानकारी दिए । आजै उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको छ ।
यसअघि पनि ती महिलाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । महर अनेरास्ववियुको विद्यार्थी राजनीति गर्दै पार्टीको केन्द्रीय सदस्य बनेका हुन् ।
बझाङ घर भएका महर प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बनेका थिए । उनी एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।
प्रतिक्रिया