विवाहअघि सधै मन्दिर जाने र पूजा गर्ने श्रीमतीले विवाहपछि मन्दिर जान छाडिन्। देवी–देवताप्रति अगाध भक्ति भएकी श्रीमतीको यस्तो परिवर्तन देखेर श्रीमान्ले सोधे– “आजकल तिमी मन्दिर जान र पूजा गर्न छाड्यौ?”
श्रीमतीले सहजै भनिन्, “तिमीसँग विवाह गरेपछि मेरो भगवानप्रतिको विश्वास टुट्यो।” श्रीमान् मख्ख परे, आफूलाई भगवानको श्रेणीमा पाएकोमा। सोच्न थाले, “हो, भगवानजस्तै श्रीमान् पाउँदा त घर नै मन्दिरजस्तो भएको छ।”
श्रीमान्को कुरा सुनेपछि श्रीमती अनुहार बिगार्दै भनिन्, “विवाहअघि योग्य श्रीमान् पाउने आशामा धेरै पूजा–आज, व्रत, भाकल गरेकी थिएँ। तर अन्त्यमा तिमीसँग विवाह हुन पुग्यो। अब म भगवानप्रतिको विश्वास कसरी गरूँ?”
जसरी ती महिलाको भगवानप्रतिको विश्वास टुटेको थियो, त्यसरी नै आज जनताको राजनीतिक दलहरूप्रति विश्वासको गहिरो संकट देखिन्छ। जब सत्ता बाहिर हुँदा “रामराज्य ल्याउने” बाचा गर्ने दलहरू सत्तामा पुगेपछि भ्रष्टाचारको विशालकाय भ्यू–टावरमा चढेर रामको जन्मभूमि खोतल्दै समय बिताइरहेका छन्।
आजको राजनीति भारतीय व्यंग्यकार शरद जोशीले वर्णन गरेझैँ देखिन्छ — “राजनीतिको चरित्रको एकमात्र विशेषता हो – उसले आफैँ कुनै चरित्र बोकेको हुँदैन। चरित्रविहीनता नै राजनीतिको मूल चिनारी हो।” विगत र वर्तमानका गठबन्धनहरू, चुनावी समीकरणहरू र सत्ता–शक्तिका लागि भइरहेका चोचोमोचोहरूले राजनीतिमा चरित्रको सजीव चित्रण स्पष्ट देखाएका छन्। दलाल र बिचौलियाहरूले देशको कार्यकारी प्रमुखको ‘खोपसम्म पहुँच र नियन्त्रण छ’ भनेर सत्तासीन दलकै नेताहरूले भनिरहँदा मुसुक्क हाँसेर स्वीकार गर्नेहरूलाई “लभ यू” भन्नेहरूले देश लुटिरहेका छन्।
प्रसिद्ध अमेरिकी साहित्यकार मार्क ट्वेन कुनै समय एक पत्रिकाको सम्पादकीय कार्यालयमा कार्यरत थिए। उनी वाकपटुता र हास्य–व्यंग्यमा सिद्धहस्त थिए, तर व्यवहारमा अत्यन्तै अल्छी। उनको त्यो स्वभावले दैनिक कार्यालयको वातावरण नै बोझिलो बन्दै गइरहेको थियो, न त सुपरभाइजर सन्तुष्ट थिए, न सहकर्मीहरू, न सम्पादक नै। छ महिनासम्म कार्यरत रहँदा पनि मार्कको कार्यशैलीमा सुधारको कुनै छनक देखिएन।
अन्ततः, निराश र हतोत्साहित भएका पत्रिकाका मालिक तथा सम्पादकले एक दिन उनलाई कार्यालयमा बोलाएर कड्किए, “तपाईं अल्छी हुनुहुन्छ। तपाईंको यस गैर–जिम्मेवार प्रवृत्तिका कारण हामी अब तपाईंलाई यस संस्थाबाट हटाउन बाध्य छौं।” सम्पादकको तीखो निर्णय सुनेपछि मार्क ट्वेनले शान्त, तर गहिरो व्यंग्य मसिएको स्वरमा भने, “म अल्छी छु भन्ने थाहा पाउन तपाईंलाई छ महिनासम्म लाग्यो? म त केवल अल्छी हुँ, तर तपाईं त बुद्धिहीन पो हुनुहुँदो रहेछ! तपाईंको मस्तिष्क त गोबरले भरिएको जस्तो लाग्छ।”
यथार्थमा, मार्क ट्वेनजस्तो एक व्यक्तिबाट काम नहुने कुरा बुझ्न उनका मालिकलाई आधा वर्ष लाग्यो। तर विडम्बनापूर्ण रूपमा, हामी नेपालीहरू अझै पनि बुझ्न असमर्थ छौं कि विगत सात दशकदेखि सत्ता सञ्चालन गरिरहेका मूलधारका राजनीतिक दलहरू र तिनका नेताहरूबाट देशको समृद्धि, स्थायित्व र लोककल्याणको सपना देखिरहेछौं। यो हाम्रो केवल भ्रम हो।
हामी बारम्बार उही प्रक्रिया, उही प्रवृत्ति र उही अनुहारहरूमार्फत फरक परिणामको अपेक्षा गरिरहेका छौं र यही सोच आफैँमा एक गहिरो विडम्बना हो। यति भन्नुहुँदा, विगतका ऐतिहासिक उपलब्धिहरू, सकारात्मक र दूरदर्शी आन्दोलनहरू, शहीदहरूको बलिदान, राष्ट्र, राष्ट्रयता, जनतन्त्र तथा जनजीविकाका पक्षमा लडिएका संघर्षहरूको अवमूल्यन गर्नु कुनै हालतमा उचित हुँदैन।
हामी विगतप्रति कृतज्ञ हुनैपर्छ, किनकि त्यही विरासतबाट आजको चेतना निर्माण भएको हो। तर “बाजेको पालामा बीपीले यस्तो गरे”, “बुबाको पालामा मदन भण्डारीले उस्तो गरे” वा “छोराको पालामा माओवादी आन्दोलनमा हजारौँको बलिदान भयो” भन्दै ती योगदानको ब्याजमा मात्रै वर्तमान चलाउने सोच गम्भीर विकृति हो।
इतिहास सम्झनु, मूल्याङ्कन गर्नु, र त्यसबाट प्रेरणा लिनु आवश्यक छ, तर त्यसैको आडमा वर्तमानको अकर्मण्यता, असक्षमता र निराशाजनक नेतृत्वलाई ढाकछोप गर्नु भने नितान्त मूर्खता हो। इतिहास पूजनीय अवश्य हो, तर त्यसको छायामा वर्तमान सत्यलाई विसर्जन गर्नु आत्मघाती प्रवृत्ति हो।
के नेपालका मूलधारका वर्तमान राजनीतिक दलहरूको चिन्तन, कार्यशैली र जीवनशैली तिनले अंगीकार गरेको भनिएको राजनीतिक दर्शन, मूल्य र मान्यतासँग कुनै सम्बन्ध राख्छ? के दलका नेतृत्वसँग न्यूनतम नैतिक चरित्र र वैचारिक नेतृत्व क्षमताको झल्को पाइन्छ? के कुनै पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास छ? के दलहरू स्थापित विधि, प्रक्रिया र संस्थागत संयन्त्रअनुसार सञ्चालित छन्?
नेताहरू समष्टिगत लक्ष्य प्राप्तिका लागि दलमा आवद्ध छन् कि केवल व्यक्तिगत स्वार्थ पूर्तिको साधनका रूपमा दलको उपयोग गर्छन्? कार्यकर्ताहरू राजनीतिक दर्शनमा आस्था राखेर दलको झन्डा बोक्छन् कि नेताको अनुहार र अवसरको पछि लाग्छन्? राजनीति सेवा हो कि व्यापार बनाइएको छ ?
यदि कुनै आग्रह वा पूर्वाग्रह बिना, केवल एक स्वतन्त्र नागरिकको दृष्टिकोणबाट यस्ता प्रश्नहरूको निष्पक्ष उत्तर खोज्ने प्रयास गरियो भने, नेपालका भनिने सबै मूलधारका दलहरूको हालत दयनीय देखिन्छ। केही अपवादलाई छोड्दा, आजका राजनीतिक दलहरू गुट र उपगुटहरूको महासंघजस्ता देखिन्छन्। पार्टी कार्यालयहरू अखडा जस्ता, नेताहरू मठाधीश जस्ता, मध्यम तहका कार्यकर्ता बिचौलिया जस्ता, तल्लो तहका कार्यकर्ता हनुमान जस्ता, र आर्थिक कारोबारका हिसाबले दलहरू दुई नम्बरका व्यापारी जस्ता भइसकेका छन्। दलहरूको संगठित संरचना खोक्रो र देखावटी मात्र बनेको छ। दलभित्रको संगठन विभागभन्दा बिचौलिया प्रभावशाली देखिन्छ।
के हामीले यस्तै राजनीतिक दलहरूबाट लोकतन्त्र, समृद्धि र लोककल्याणकारी राज्यको अपेक्षा राख्न सक्छौं ? आज मार्गदर्शक वैचारिक सिद्धान्तहरू लगभग डाइनोसरझैं लोप भइसकेका छन्। अब ती केवल पार्टीको विधान र चुनावी घोषणापत्रमा औपचारिकता पूर्तिका लागि बाँकी छन्।
नेतृत्वबाट नैतिकता, इमानदारी र जवाफदेहिताको अभ्यास हराउँदै गएको छ। हिजो साँझ सुत्दा एक दलको वैचारिक नेता, बिहान उठ्दा अर्को दलको झन्डा बोकेर देखिन्छ। लाज, मर्यादा र राजनीतिक सिद्धान्त सबै निजी स्वार्थको खाडलमा बलियो। त्यस्तै दल र गुटको फेरबदल गर्दै हिँड्ने केही “चालु टपरटुइयाँ” नेता देख्दा लाग्छ – कपालभन्दा टोपी छोटो।
आजका संसदीय मूलधारका दलहरूबाट वर्तमान अवस्थामा देशको हित वा जनताको कल्याण सम्भव देखिँदैन। चर्का भाषण र रमाइला राजनीतिक शब्दहरूले न भोक मेटिन्छ, न सपना पूरा हुन्छ, न त यिनले राष्ट्रको घाउमा मल्हम लगाउँछन्। गर्मी मौसममा खेतबारीमा काम गरिरहँदा बगेको पसिना घाममा सुकाएर सुक्दैन, त्यसले शीतलता दिन सक्दैन। संसदीय व्यवस्थाको निरन्तरता चाहने हो भने पनि अब इमानदार र प्रतिबद्ध युवाको नेतृत्वमा दलहरूको पुनःसंरचना वा आवश्यक परे पुनर्निर्माण अपरिहार्य छ। च्याखे थापेर, व्यक्तिगत स्वार्थ मिलाएर वा कसैको आदेश तामेली गर्नेहरूबाट समृद्धिको अपेक्षा गर्नु हुँदैन। जति पवित्र किन नहोस्, कुशको गाईले त पितृकार्यमा सहयोग गर्न सक्छ, तर दूध त दिन सक्दैन।
प्रतिक्रिया