• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    नेपालको शिक्षामा पुँजीवादी प्रवृत्ति र यसको असर

    1K
    SHARES

    “शिक्षासँग जोडिएका हाम्रा तीनवटा अवधारणहरु छन् : एक बौद्धिक शिक्षा, दुई शारिरिक विकास र तीन पोलिटेक्निकल शिक्षा, जस्ले उत्पादन प्रक्रियाका सामान्य वैज्ञानिक सिद्धान्तसँग परिचित गराउनुका साथै बालबच्चा तथा किशोरलाई सबै उत्पादनसँग जोडिएका औजार चलाउन सिकाँउछ” । (कार्ल माक्र्स, १८६७)

    विषय प्रवेश :

    नेपालको राजनितिक आन्दोलनको बारेमा जुन स्तरवाट छलफल र बहसहरु भएका छन् त्यसरी नै शिक्षा क्षेत्रमा पनि समय सापेक्ष रुपले छलफल र बहसहरु केन्द्रीत हुन जरुरी देखिन्छ । शिक्षा क्षेत्रमा भएका छलफल र बहसले एक हदसम्म बिषयवस्तुलाई उजागरण त गरेको देखिन्छ तर त्यसले सार्थकता भने पाउन सकिरहेको छैन । पुँजीवादीहरुले वकालत गर्ने बुर्जुवा शिक्षा प्रणाली र प्रगतीशिल अझ भन्दा कम्युनिष्टहरुले भन्ने गरेको जनवादी शिक्षाका बिषयमा सशक्त रुपले प्रतिधुर्बीय संघर्ष चल्दै आईरहेको छ । यसमा न त बुर्जुवा शिक्षाबाट पुँजीपतीहरुले उल्लेख्य आत्मसन्तुष्टि लिन सक्ने अवस्था छ नत कम्युनिष्टहरुले जनवादी शिक्षाको ठोस खाका नै पेस गरेर कार्यान्वयन गर्न सक्ने अवस्था छ ।

    नेपालमा आफुलाई कम्युनिष्ट भन्ने दलहरु पटक पटक राजनैतिक सक्ताको बागडोर सम्हाल्न पुगे तर उनीहरुले आफैले भन्ने गरेको जनवादी शिक्षा त लागु गर्न सकेनन नै, कमसे कम त्यस्को गुदी समेटिएको शिक्षा प्रणालीलाई अवलम्बन पनि गर्न सकेनन् । नेपाल जस्ता कैयौँ उत्पीडित राष्ट्रहरुको शिक्षा प्रणाली सम्पूणर् रुपले बुर्जुवा वर्गको हातमा छ र त्यही वर्गले नै राज्यसत्ताको बागडोर पनि समालिरहेको छ । रुपमा बुर्जुवा वर्ग वा राज्यसत्ताले विध्यालयहरु सबै प्रकारका राजनिती भन्दा माथि रहनुपर्दछ र त्यसले समाजको सम्पूर्ण रुपले सेवा गर्नुपर्दछ भनी प्रचारबाजी गरेपनि यथार्थमा उनीहरु शिक्षालाई बुर्जुवा बर्गीय सोचद्धारा उपयोग परिरहन्छन् । उनीहरुको मुख्य उधेश्य नै विध्यालयहरु मार्फत पुँजीपतिहरुका लागि आज्ञाकारी तथा सक्षम कारिन्दा उत्पादन गर्नु हो ।

    एकातिर कम्युनिष्ट पोल र अर्कोतिर एन्टीकम्युनिष्ट पोलको बिचमा केही थान बहसहरु त भए तर त्यस्ले उचित युग सुहाउदो निष्कर्ष भने दिन सकिरहेको छैन ।

    कम्युनिष्टहरुले शिक्षा क्षेत्रमा संघर्ष गर्नु भनेको एकअर्थमा बुर्जुवावर्गलाई सक्ताबाट प्mयाक्ने कोशिस गर्नु हो तर उनीहरु सफल भएको देखिदैनन । कम्युनिष्टहरुले भन्ने गरेको एउटा सत्य कुरा के हो भने जीवन र राजनितिबाट काटिएको शिक्षा ढोग र पाखण्ड बाहेक अरु केही हुन सक्दैन । तसर्थ ढोगी, पाखण्डी र बुर्जुवा बर्गीय शिक्षा प्रणालीलाई अन्त गर्दै वैज्ञानिक, बस्तुवादी, देश सुहाउँदो र उत्पादन सहित श्रमसँग जोडिएको शिक्षाको बहस पैरबी गर्ने कुरा आजको अपरिहार्य आवश्यक्ता हुन गएको छ । नेपालको शिक्षा प्रणाली सम्बन्धी बहस हरेक राजनैतिक आन्दोलन सँग सँगै हुने गरेका छन । २००७ सालको राजनैतिक परिवर्तन पछाडि गणतन्त्र सम्म आउँदा पनि हाम्रो देशलाई चाहिने शिक्षा कस्तो हो भन्ने कुरामा राजनैतिक दलहरु र प्राज्ञिक व्यक्तित्वहरु दोधारमा भएको देखिन्छ । एकातिर कम्युनिष्ट पोल र अर्कोतिर एन्टीकम्युनिष्ट पोलको बिचमा केही थान बहसहरु त भए तर त्यस्ले उचित युग सुहाउदो निष्कर्ष भने दिन सकिरहेको छैन । शिक्षा अझै पनि परम्परागत र शास्त्रीय शैलीमा नै चलिरहेको छ । यसलाई बदल्ने कुरा नै आजको प्रमुख बिषय हो । नेपालको शिक्षा प्रणालीका केही सकारात्मक पक्षहरु प्नि नभएका होइनन तर मुलभूतरुपमा यस्को मूल पक्ष त्यति राम्रो देखिदैन । यस्को पछाडि थुप्रै कारणहरु छन् र तीनको निबारण आजको पुस्ताले खोज्नु अनिवार्य भईसक्यो । नेपालको शिक्षा क्षेत्रमा केही नकारात्मक प्रवृतिहरु झाँगिदै गईरहेका छन जस्ले प्रत्यक्ष परोक्ष रुपमा पुजीवादलाई नै सहयोग पुगिरहेको छ । एकातिर हाम्रो शिक्षा प्रणाली नै बदनाम हुँने र अर्कोतिर राज्य बेखबर भईरहने प्रवृति आजको तितो यर्थात हो । नेपालमा शिक्षा क्षेत्रमा केही पुँजीवादी प्रवृतिहरु सतहमा देखा परिरहेका छन । ति प्रवृतिहरु र त्यसले देशलाई के कति प्रभाब पारिरहेको छ भन्ने बिषयमा केही चर्चा परिचर्चा गर्न आवस्यक देखिन्छ । यसबारेमा तल ब्याख्या गरिएको छ ।

    १) शिक्षा जनताको पहुँच बाहिर (महँगो)

    शिक्षा र श्वास्थ्य जस्तो दैनिक रुपमा जनताको जीवन सँग सरोकार राख्ने बिषय पूणर्रुपमा राज्यको मातहतमा हुनुपर्ने तर नेपालको राज्य संयन्त्रले यिनीहरुलाई निजीक्षेत्रको जिम्मा लगाएर आफु रमिते बनिरहेको छ । सन १९९० पछाडि विश्वमा प्रवेश गरेकोे आर्थिक उदारिकरण र नेपालमा २०४६ साल पछाडि नेपाली कांगे्रसले ल्याएको आर्थिक उदारिकरणको निति अन्तर्गत शिक्षा र श्वास्थ्य क्षेत्रमा निजिकरण फस्टाएको हो । जस्को कारण आज नेपालका बहुसंख्यक जनता शिक्षा र श्वास्थ्यको पहुँच बाहिर छन् । शिक्षा यति महँगो छ की जो कोहीले आफ्ना छोराछोरीलाई निजी बिध्यालयमा पढाउन नै सक्दैनन । सार्वजनिक शिक्षाको स्थिति अत्यन्तै नाजुक अवस्थामा भएकै कारण अभिभावकहरु आफ्ना नानीबाबुहरुलाई निजीमा पढाउन बाध्य छन् । नर्सरी देखि कक्षा १२ सम्मको शिक्षामा लाखौं/करडौं पैसा लाग्ने हुँदा बहुसंख्यक जनताका छोराछारीहरु आधारभूत शिक्षाको तहसम्म पनि पुग्दैनन । बिचमै पढ्न छोडेका नौजवानहरु सस्तोमा विश्वबजारमा आप्mनो श्रम बेच्न बाध्य हुन्छन् । काठमाण्डौ उपत्यकाको एक निजी विध्यालय(जस्ले गुणस्तरीय शिक्षा प्रदान गरेको हबला दिन्छ)को कक्षा नर्सरी देखि १२ कक्षा सम्म लाग्ने शैक्षिक खर्च मात्र करोड माथि पुग्दो रैछ । जुन नेपालका ९९ प्रतिशत जनताको पहुँचमा नै छैन वा यो मात्रामा खर्च गर्न सक्ने हैसियत करिब १ प्रतिशत नेपालीको मात्र छ ।

    मथिको डाटालाई आधार मान्ने हो भने गुणस्तरिय शिक्षा सबैको पहुँचमा छैन नै । एक बर्षको लाग्ने जम्मा शुल्क १४,७६,२०० लाई १२ महिनामा बराबर भाग गर्ने हो भने प्रत्यक महिना १,२३,०१६.६६ पर्ने रैछ । त्यो लेभलको पैशा तिर्न उस्को मासिक कमाई पनि सरदर ५ लाख वरिपरि हुनुपर्ने हुन्छ जुन नेपालको सन्दर्भमा प्रधानमन्त्रीको पनि हुदैन । यसबाट के बुभ्mन सकिन्छ भने शिक्षा र श्वास्थ्यको व्यबस्थापनमा हुने खर्च सिमित पुँजीपति बाहेक अरुले धान्न सक्ने अवस्था नै छैन । त्यसैले दुई प्रकारको शिक्षा प्रणाली(निजि र सार्वजनिक) बनाईएको छ । शिक्षामा भएको निजिकरण र व्यपारिकरणले असमानताको खाडल फराकिलो मात्र होइन यस्ले मानिसहरुलाई वर्गमा विभाजित समेत गरेको छ । तसर्थ निजिकरण र ब्यापारिकरणको अन्त्य र शिक्षालाई पूणर् निशुल्क सहित अनिवार्य बनाउन सम्पूणर्रुपमा शिक्षा राज्यको मातहतमा ल्याउनु पर्ने आजको प्रमुख आवश्यक्ता हो ।

    २) बहुव्यापारिक केन्द्रको रुपमा फस्टाउनु

    शिक्षामा भएको निजिकरण सँगै ब्यापारीकरणले पनि सिमा नाघेको छ । निजि विध्यालयलाई कम्पनि ऐन अन्तर्गत दर्ता र संचालन गर्न पाउने अधिकार दिए सँगै शैक्षिक संस्थाहरु ब्यापारको लागि बहुकेन्द्रको रुपमा बिकसित भईरहेका छन् । आज विध्यालयहरुले विध्यार्थीहरुको लागि चाहिने सबै सामाग्रीहरुको बिक्रि बितरण सकेसम्म विध्यालय हाताभित्रै नत्र सेटिङ्ग गरेर विध्यालय बाहिर गरिरहेका हुन्छन् । विध्यार्थीहरुलाई चाहिने आवश्यक सामाग्रीहरु (किताब, कापी, पेन, पेन्सील, स्कूल ड्रेस, टिफिन, खेलकुदका सामानहरुका साथै मनोरञ्जनका सामानहरु) विध्यालयकै सेटिङ्गमा बेचिन्छन र अभिभावकहरु किन्न बाध्य हुन्छन । एउटा विध्यार्थीबाट नै एउटा विध्यालयले बार्षिक रुपमा लाखौं फाईदा मात्र असुल्छ । जस्तो एउटा विध्यार्थीलाई चाहिने किताब एभरेजमा ६,००० पर्ने छ भने त्यस्मा फाईदाको ३० देखि ४० प्रतिशत विध्यालयलाई र बाँकी पसललाई हुने गरी सहमति गर्छन । मानौ मुनाफा २,००० हुँदा त्यसको ४० प्रतिशतको रकम ८०० हुन आउछ, जो एक जना विध्यार्थीबाट विध्यालयको खातामा जाने पैसा हो । यदि एउटा विध्यार्थी १२ कक्षासम्म पढ्यो भने उसबाट विध्यालयलाई जाने रकम १२,००० हुन आउँछ । यदि त्यो विध्यालयमा १,००० जना विध्यार्थी छन भने विध्यालयको कमाई १,२०,००,००० (एक करोड बिस लाख) हुन्छ । यो एउटा नमुना मात्र हो । यस्ता धेरै व्यापारीक गतिबिधिहरु विध्यालयमा हुने गर्छन । त्यसैले राजनैतिक रुपले भन्ने गरिएको निगम पुँजीको एउटा नमूना बन्न गएको छ विध्यालय । यी सबै गतिबिधि हेर्दा यस्ले दलाल पुँजीवादलाई नै सेवा गरिरहेको छ । दलाल पुँजीको बिस्तार र शिक्षामा भएको चरम व्यापारिकरणको प्रत्यक्ष असर अभिभावकलाई परेको छ । तसर्थ शिक्षालाई बस्तुको रुपमा विनिमय गर्ने साधन बनाउनु हुँदैन र यस्लाई सेवामुलक रुपमा ग्रहण गरी राष्ट्रको प्रगति र समृद्धिको आधार स्तम्भको रुपमा शिक्षालाई अगाडि बढाउने कुरा नै देश र जनताको हितमा हुन्छ ।

    ३) अनौपचारिक पुँजी (कालो धन) ब्यवस्थापनको केन्द्र

    नेपालको शिक्षा प्रणाली आज कर्पोरेट पुँजीपतिहरुको हातमा जादैछ । विशुद्ध शैक्षिक क्षेत्रका व्यक्तित्वहरुले होल्ड गर्नुको सट्टा ठुल्ठुला धनाढ्य, माफिया र दलाल पुँजीपतिको आकषणर्को केन्द्र बन्दैछ शिक्षा क्षेत्र । शिक्षामा जब निजिकरण र ब्यापारिकरणले स्थान पायो तब त्यो क्षेत्र औपचारिक र अनौपचारिक पुँजी ब्यवस्थापनको केन्द्र बनेको छ । नेपालमा २०४६ साल भन्दा पछाडि ब्यापक रुपमा भ्रष्टाचार मौलाएको छ । आर्थिक र नितिगत रुपमा भएको भ्रष्टाचारका थुप्रै काण्डले सिमित दलाल र माफियाहरु मलामाल भईरहेका छन् । उनीहरु त्यसरी कमाएको कालो धनलाई प्रत्यक्ष वा परोक्ष रुपमा निजि शैक्षिक संस्थाहरुमा लगानी गरिरहेका हुन्छन् । यसो गर्दा कालो धनको ब्यवस्थापन पनि हुने र चाहिने मात्रामा संस्थालाई पुँजी पनि संकलन हुने । जब दलाल, माफिया र ठुला उधोगपतिहरु शिक्षामा लगानी गर्छन तब उनीहरुलाई छिटो भन्दा छिटो फाईदा चाहिने हुन्छ । यस्का साथै उनीहरुले संस्थाबाट उत्पादित मानब संसाधनलाई पनि उनीहरुकै सेवा गर्ने वा दलाल पुँजीकै सेवा गर्ने गरि प्रशिक्षित गर्छन । कालो धनलाई सेतो धनमा वैधता दिने र पुनः उक्त सेतो बनाईएको धनबाट कालो धन प्राप्तिको लागि सदुपयोग गर्ने हर्कत हुनु समग्र शिक्षा प्रणालीको निम्ति बिडम्बनाको बिषय हो । नेपालमा करिब ५०० देखि ६०० अर्ब पैशा निजि स्कुलहरुमा लगानी भएको देखिन्छ । करिब ८,००० भन्दा बढी निजि विध्यालयहरु खेलिनु यसैको परिणाम हो । करिब १८ लाख विध्यार्थीहरु निजिमा पढिरहेको डाटाले पनि संचालकहरुको बार्षिक आम्दानी पनि सोही अनुपातमा हुने भएकोले कालो धन कमाउनेहरुलाई लगानी गर्न आकषणर्को केन्द्र बनेको छ नेपालको शिक्षा क्षेत्र । शिक्षामा सबैले कालो धनकै व्यबस्थापन गरेका छन भन्ने भन्दा पनि केही प्रतिशत दलाल, माफिया र उधोगपतिका कारण सेवामुलक हुनुपर्ने शिक्षा क्षेत्र विकृति र विसंगतिको केन्द्र बन्दैछ । त्यसमा राज्यको पूणर् निगरानी र सुपरिवेक्षणको अति आवस्यक छ । अन्यथा सेवामुलक भावका साथ शिक्षामा लगानी गरेका लगानीकर्ताहरु पलायन हुने अनि दलाल र माफिया मात्र शिक्षा क्षेत्रमा हावी हुने सम्भावना हुन्छ ।

    ४) राष्ट्र, जनता र राष्ट्रियताप्रति असंवेदनशील ।

    अदक्ष भएर गएको तर पूर्ण दक्ष भएर नेपालमै आएर देशको सेवा गर्छु भन्ने भावना विदेश गएका लाखौं युवा बिध्यार्थी मध्ये १ प्रतिशतमा पनि छैन । त्यसैले त आज हाम्रो देश संसारमा गरिब छ, हेपिएको छ र हाम्रो स्वाभिमान पनि कम्जोर बनेको छ ।

    पुँजीवादको दबदबा कायम रहेको नेपालको शिक्षाको मुल चरित्र नै व्यक्तिगत रुपमा पुँजीपतिहरुलाई र राजनैतिक वैचारिक रुपमा पुँजीवादलाई टेवा पुग्ने खालको छ । पुँजवादको मुख्य उधेश्य भनेकै जसरी हुन्छ मुनाफा कमाउनु हो । मुनाफा नै उधेश्य राखेपछि किन राष्ट्रप्रति जवाफदेही हुने ? किन देश, जनता र राष्ट्रियतालाई काँधमा थाप्नु ? १२ कक्षा पढी सक्दा नसक्दै विदेश पलायन भएर पैसा कमाउने भन्ने मनोभावबाट नेपालका अधिकांश विध्यार्थीहरु गुर्जिरहेका हुन्छन् । देशलाई कसरी सेवा गर्ने, जनता र राष्ट्रप्रति कुन हदसम्म इमान्दार र बफादार हुने भन्ने सवालमा कोही पनि संवेदनशील भएको देखिदैन । यसो हुनुभन्दा पछाडि हाम्रो शिक्षा प्रणाली नै मुलभूतरुपमा जिम्मेवार छ । हरेक विध्यार्थीहरुको मानसपटलमा जबरजस्त रुपमा पलायनमूखि भास्य घुसाईएपछि असंवेदनशील हुने कुरा स्वभाविक छ । देशको लाखौं रुपैया पलायन गराएर वैध वा अवैधरुपमा अर्को देशमा गएर उतैको नागरिक बनेकोमा गर्व गर्ने आजको युवा पुस्ता सारमा देश, जनता र राष्ट्रियताप्रति पूणर्रुपमा असंवेदनशील छ । अदक्ष भएर गएको तर पूर्ण दक्ष भएर नेपालमै आएर देशको सेवा गर्छु भन्ने भावना विदेश गएका लाखौं युवा बिध्यार्थी मध्ये १ प्रतिशतमा पनि छैन । त्यसैले त आज हाम्रो देश संसारमा गरिब छ, हेपिएको छ र हाम्रो स्वाभिमान पनि कम्जोर बनेको छ । देश समृद्धिको मुख्य आधार भनेकै युवा बिध्यार्थी हो तर उनीहरुलाई नेपालको शिक्षा प्रणालीले स्वाधिन होईन पराधिन बन्न सिकाईरहेको छ, देश र जनताप्रति संवेदनशील होइन असंवेदनशील हुन सिकाईरहेको छ , आलोचना गर्न मात्र सिकाउछ तर सिर्जना गर्न सिकाउदैन । बिदेसी नागरिक बन्नकै लागि देशका नागरिकलाई अनागरिक बनाउने र बन्ने होडबाजीले पनि मिनिमम मोर्यालिटी गुमाएको छ हाम्रो शिक्षा प्रणालीले । देशको राष्ट्रियता, सार्वभौमसक्ता र स्वाभिमानमा आँच आउदा पनि दायित्वबोध नहुने शिक्षा प्रणाली परिवर्तन गर्नुको विकल्प छैन । संकट पर्दा देशको लागि निश्वार्थ लड्ने र आवश्यक पर्दा वलिदान दिन सक्ने शिक्षा प्रणलीको आवश्यक्क्ता छ हाम्रो देशमा ।

    ५) विश्व बजारमा सस्तो श्रम उत्पादन गर्ने कारखाना

    आज नेपालीहरु विश्वका हरेक देशमा अत्यन्तै सस्तो पारिश्रमिकमा काम गरिरहेका भेटिन्छन । नेपालको श्रम सम्भवतः विश्वमै अरु देशको तुलनामा सस्तो छ ।

    नेपालको शिक्षा प्रणालीले देशलाई केन्द्रमा राखेर कहिल्यै पनि आवस्यक मानब संसाधनको उत्पादन गरेन । देशलाई चाहिने दक्ष डाक्टर, इन्जिनियर, पाइलट, प्रशासक, राजनितिज्ञ, कृर्षि बिज्ञ, अर्थ बिज्ञ, परराष्ट्र बिज्ञ लगाएत चाहिने कति हो र उनीहरुको सदुपयोग राज्यले कसरी गर्ने भन्ने बारेमा कुनै खाका छैन हाम्रो शिक्षा प्रणाली सँग । मात्र पास फेलको अबधारणामा ज्ञान र वौद्धिक्ताको स्तरलाई मापन गर्छ हाम्रो शिक्षा प्रणालीले, त्यो पनि मात्र ३/४ घण्टाको समय सिमा भित्र । कुनै बिषयमा स्नातक वा स्नातोकोत्तर उतिणर् गरेको हुन्छ तर उसँग उस्ले नै पढेको बिषयमा ज्ञानको गहिराई भने पटक्कै पाँइँदैन । जब उसँग ज्ञान र सिप नै हुँदैन भने उस्को बजार मूल्य पनि स्वभाविक रुपमा न्यूनतम हुन जान्छ र त्यसकै आधारमा उसको पारिश्रमिक निर्धारण हुन पुग्छ । आज नेपालीहरु विश्वका हरेक देशमा अत्यन्तै सस्तो पारिश्रमिकमा काम गरिरहेका भेटिन्छन । नेपालको श्रम सम्भवतः विश्वमै अरु देशको तुलनामा सस्तो छ । त्यसैले त बहुराष्ट्रिय कम्पनी र निजि कम्पनीहरु नेपालबाट श्रमशक्ति हायर गर्न इच्छुक हुन्छन । कुनै पनि देशको अर्थतन्त्र मुलतः ३ वटा चिजको आधारमा बनेको हुन्छ । एक कमोडिटी, दुई लजेष्टिक र तिन टेक्नोलोजी । हामीसँग यि मध्ये कुनै चिजको पनि मास्टर पलान हाम्रो शिक्षा पाठ्यक्रममा छैन । हामी केवल अरु देशको लागि श्रमशक्ति उत्पादन गर्ने र उनीहरुले पठाएको रेमिट्यान्सबाट देश चलाउने खालका भयौं । कृर्षिमा आधुनिकिकरण, उधोगमा प्रवृधिको जडान, उत्पादन र श्रमसँग जोडिएको र देशको अर्थतन्त्रलाई स्वाधिन बनाउनको लागि हाम्रो शिक्षा प्रणालीले काम गरेको देखिदैन । यो क्रम निरन्तर हुने हो भने युवाहरु सबै पलायन हुने र यस्ले देशको डेमोग्राफी र सामाजिक संरचना नै खल्बल्याउन सक्ने खतरा छ । तसर्थ अरुको लागि सस्तो श्रमशक्ति उत्पादन गर्ने भन्दा पनि देशको आवश्यक्ता र अपरिहार्यतालाई सम्बोधन गर्ने देश, परिस्थिति र माटो सुहाउदो शिक्षा प्रणाली नै देशको समृद्धिको यात्राको साधक बन्न सक्छ ।

    ६) पुँजीवादलाई टेवा पुग्ने खालको हुनु

    सामन्तवादसँगको निर्णायक लडाँईमा पुँजीवाद प्रगतिशील र क्रान्तिकारी भएकै कारण उस्ले बिजय प्राप्त गरेको थियो । तर पुँजीवाद आज मरणासन्न अवस्थामा छ । विश्वमा देखापरेका बहुखाले संकटहरु पुँजीवादका कारण नै निम्तिएका हुन । जसरी हुन्छ मुनाफा मात्र कमाउने मुल चरित्र बोकेको हुन्छ पुँजीवादले । यही चरित्रको जगमा नेपालको शिक्षा प्रणाली चलिरहेको छ । शिक्षा जस्तो संवेदनशील बिषय पनि राज्यको अनिवार्य दायित्वमा पर्दैन । किनकी उस्ले त्यसको जिम्मेवारी निजि क्षेत्रलाई सुम्पेको छ । निजिकरण र व्यापारिकरणको चरम सिकारमा छ नेपालको शिक्षा प्रणाली । पुँजीपतिहरुले लगानी गर्ने र उनीहरुलाई आवस्यक पर्ने खालको मानब संसाधन तयार गर्नु यस्को मुल चरित्र हो । जहाँ निजी लगानीको कुरा आउछ त्यहाँ मुनाफाको कुरा प्राथमिकतामा पर्दछ र सेवालाई गौण ठानिन्छ । त्यसैले पुँजीवादलाई सेवा गर्ने शिक्षा प्रणालीको बिकल्प खोज्न अति नै ढिलो भईसक्यो । अवको शिक्षा वैज्ञानिक र ब्यवहारिक हुनुपर्दछ जस्ले पुँजीवादलाई होइन समाजवादलाई सेवा गरोस । विध्यालयहरु अहिलेकै जस्तो भएपनि यस्मा अध्यन गर्ने बिषय र तरिकामा भने ब्यापक परिवर्तन गर्न जरुरी छ । शिक्षा जीवनसँग जोडिएको हुनुपर्दछ । जीवनको मुख्य समस्या बुभ्mने र समाधान गर्न बाटो खोज्ने शिक्षाका साथै ज्ञान र सिपलाई सर्वाङ्गीण बिकासका लागि उपयोग गर्ने शिक्षा प्रणाली नै अहिलेको परम्परागत शिक्षा प्रणालीको बिकल्प हुन सक्छ ताकी यस्ले मानवीयतालाई केन्द्रमा राखेर समाजवादलाई सेवा गर्न सकोस ।

    अवको शिक्षा वैज्ञानिक र ब्यवहारिक हुनुपर्दछ जस्ले पुँजीवादलाई होइन समाजवादलाई सेवा गरोस ।

    अन्तमा:

    राजनीतिक सत्ता वर्गीय हुन्छ र त्यो सत्ताले संचालन गर्ने शिक्षा पनि वर्गीय नै हुन्छ । नेपालको शिक्षाको वर्तमान चरित्र हेर्दा त्यो पुँजीवाद र साम्राज्यवादलाई टेवा पुग्ने खालको नै देखिन्छ । यस्लाई बदल्न जरुरी छ । अबको नेपालको शिक्षा समाजवाद उन्मुख हुन जरुरी छ । देशलाई आवश्यक पर्ने बहुप्राविधिक शिक्षामा जोड दिनु पर्दछ । उत्पादन सहित श्रमसँग जोडिएको, जनताको ज्ञान र सामाजिक आवश्यक्तामा आधारित, अनिवार्य शारिरिक बिकाससँग जोडिएको, वैज्ञानिक र व्यबहारिक शिक्षा नै आजको नेपालको शिक्षा प्रणालीको विकल्प हुन सक्छ । तसर्थ यि विकल्पहरुलाई लागु गर्न जनताको राजनैतिक सत्ताको आवश्यत्ता अनिवार्य हुन्छ र त्यो संघर्षको माध्यमबाट मात्र प्राप्त गर्न सकिन्छ । स्मरण होस राजनितिक सक्ता बिना शैक्षिक सत्ताको अभ्यास असम्भव छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ