• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    संगठन र संगठन संचालनको पद्धति बारे

    573
    SHARES

    परि थापा

    संगठन निर्माणको उद्देश्य: संगठन (Organization) भन्ने शब्दको व्युत्पत्ति ग्रिक भाषाको ओर्गानोन (Organon) भन्ने पदावली बाट भएको हो। यो पदावलीको शाब्दिक अर्थ उपकरण (Tool), साधन (Instrument) अथवा अंग/अवयव (Organ) भन्ने हुन्छ।

    संगठन भनेको निश्चित उदेश्य अंगालेको र एक वा धेरै मानिसहरु सम्मिलित भएको कुनै संघ अथवा संस्था हो। संगठन लाई एउटा कानुनी व्यक्ति (Entity) पनि मानिन्छ/भनिन्छ। अर्काशब्दमा भन्नुपर्दा, संगठन भनेको मानिसहरुको एउटा त्यसतो समुह हो जसले संगसंगै मिलेर कार्य गर्दछन।

    किनभने एकल व्यक्तिले एक्लै कार्यगर्दा भन्दा धेरै मानिहरुले एकसाथ मिलेर कार्यगर्दा धेरै उपलब्धि हासिल गर्न सकिने हुन्छ। त्यसो भएकाले संगठनको निर्माण हुन्छ/गरिन्छ। कुनैपनि संगठन अस्तित्त्वमा रहनकालागि निम्नलिखित कुराहरु आवश्यक हुन्छन: १. नीति र उद्देश्यको निर्धारण। २. नेतृत्व र कार्यसमितिको गठन। ३. कार्यक्रम/गतिविधिको संचालन।

    संगठन र सिद्धान्तको अन्तर्सम्बन्ध:

    कुनैपनि संगठनको एउटा निश्चित मार्गदर्शक सिद्धान्त हुन्छ र त्यस अनुसारको लक्ष्य प्राप्तिका लागि संगठन सन्चालन गर्ने पद्धति निर्धारित हुन्छ। अत: संगठन र सिद्धान्त एकआपसमा घनिष्ठ रुपले अन्तर्सम्बन्धित विषयहरु हुन। “मार्कसवाद-लेनिनवाद-माओवाद” लाई मार्ग निर्देशक सिद्धान्तका रुपमा अंगिकार गर्ने पार्टी तथा संगठनको संगठन सन्चालन गर्ने पद्धति भनेको “जनवादी केन्द्रीयता (Democratic Centralism)” हो। जनवादी केन्द्रीयता भनेको नेतृत्वको त्यसतो पद्धति हो जस अनुसार पार्टी/संगठनले गरेको राजनीतिक र सांगठनिक निर्णयहरु त्यसका सबै निकाय/अङ्गहरु र सदस्यहरुले मान्नै पर्दछ।

    जनवादी केन्द्रीयताको सिद्धान्तका प्रतिपादक रुसी महान अक्टोबर समाजवादी क्रान्तिका नायक कमरेड लेनिन हुन। लेनिन द्वारा लिखित “के गर्ने ? हाम्रो आन्दोलनको ज्वलन्त प्रश्नहरु-१९०२ (What Is to Be Done? Burning Questions of Our Movement)” भन्ने रचना लाई जनवादी केन्द्रीयता सम्बन्धी आधारभूत लोकप्रिय पाठ्य सामाग्रीका रुपमा लिईन्छ। लेनिनले “रुसी समाजिक-जनवादी श्रमिक पार्टीको एकता महाधिवेशनमा प्रस्तुत प्रतेदन (१९०६)” मा जनवादी केन्द्रीयता लाई “छलफलको स्वतन्त्रता र कामकार्वाहीमा एकता (Freedom of Discussion and Unity of Action)” को सम्मिलनको रुपमा उल्लेख गरेकाछन।

    रुसको कम्युनिस्ट पार्टी (बोल्शेभिक) र मेन्शेभिकहरुका विचमा विभाजन आउनुको कारणहरु मध्ये एउटा जनवादी केन्द्रीयताको सिद्धान्तलाई अंगिकार गर्ने विषय रहेको थियो। किनभने मेन्शेभिकहरुले लियोन ट्रोट्स्कीले आफ्नो “हाम्रा राजनीतिक कार्यहरु (Our Political Tasks)-१९०४” नामक रचनामा उल्लेख गरेजस्तै रुसी कम्युनिस्ट पार्टी भित्र खुकुलो (ढिलाढाला) पार्टी अनुशासनको पक्षमा समर्थन जनाएका थिए।

    लेनिनले “पार्टी एकताका सम्बन्धमा (On Party Unity)” भन्ने आफ्नो रचनामा जनवादी केन्द्रीयताले पार्टीमा गुटबन्दी (Factionalism) लाई रोकथाम गर्नेछ भन्ने विचार प्रस्तुत गरेकाछन। उनको तात्पर्य के थियो भने गुटबन्दीले गर्दा पार्टी सदस्यहरु बिचको मैत्रीपूर्ण सम्बन्ध लाई कमजोर तुल्याउंछ र पार्टीका दुश्मनहरुले त्यो अवस्थाको नाजायज फाईदा उठाउन सक्दछन। रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) को मार्च ०८-१६, १९२१ मा सम्पन्न दशौं महाधिवेशन द्वारा पारित “पार्टी एकता बारे” भन्ने प्रस्ताव (नं. १२) मार्फत गुटबन्दी माथि प्रतिबन्ध लगाएको थियो।

    रुसको कम्युनिस्ट पार्टी तत्कालीन रुसी समाजिक-जनवादी श्रमिक पार्टी (बोल्शेभिक) को सन १९१७ को अगस्ट २६ देखि जुलाई ०३ तारिख सम्म पेत्रोग्रादमा सम्पन्न भएको छैंठौं पार्टी महाधिवेशनले जनवादी केन्द्रीयता लाई निम्नानुसार व्याख्या गरेको थियो:

    १.पार्टीका माथि देखि तल सम्मका सम्पूर्ण निर्देशक निकायहरु निर्वाचित हुनेछन्। २. पार्टीका सबै निकायहरुले आफ्ना गतिविधिहरुको आवधिक विवरण आफ्ना सम्बन्धित पार्टी संगठनहरु लाई दिनेछन्। ३. पार्टी अनुशासन कडाईकासाथ लागुहुनेछ र अल्पमत बहुमतको मातहत रहनेछ। ४. उपल्लो निकायहरुका सम्पूर्ण निर्णयहरु तल्ला निकायहरु र सम्पूर्ण पार्टी सदस्यहरु माथि निरपेक्षरुपले बाध्यकारी हुनेछन (सोभियत संघको कम्युनिस्ट पार्टीको इतिहास-१९३९)।

    जनवादी केन्द्रीयताको द्वन्दात्मकता:“मार्क्सवाद-लेनिनवाद-माओवाद” लाई मार्ग निर्देशक सिद्धान्तका रुपमा अंगिकार/स्वीकार गर्ने पार्टी तथा संगठनहरुले आफ्नो विश्व दृष्टिकोण तथा दार्शनिक पक्षधरताका रुपमा द्वन्दात्मक भौतिकवादी दर्शनलाई आत्मसाथ गर्दछन। त्यसको तात्पर्य भनेको द्वन्दवादका सार्वभौम नियमहरु लाई स्वीकार/पालना गर्नु हो। द्वन्दवादको आधारभूत एवम् मुख्य नियम भनेको “विपरीतहरुको एकता र द्वन्द/संघर्ष (Unity and Struggle of Opposites)” हो। द्वन्दवादको उक्त नियम “सार्वभौम (Universal)” छ र त्यो जीवन र जगतका हरेक क्षेत्रमा लागु हुन्छ।

    जस्तै उदाहरणका रुपमा भन्नुपर्दा जीवित जगतमा विपरित तत्वहरुको विचमा “सम्मिलन र विमिलन (Assimilation and Dissimilation)” प्रकृयाकको अन्तर्द्वन्द्व, निर्जीव जगतमा अणुको “धनावेशी नाभी (Proton) र ऋणावेशी (Electron) को विचमा एकता र संघर्ष, मानव समाजमा “वर्गीय विरोध अथवा वर्ग संघर्ष (Class Struggle)” अनि मानव चिन्तनमा विचारको “विश्लेषण र संश्लेषण (Analysis and Synthesis) जस्ता परिघटनाहरुलाई लिन सकिन्छ।

    त्यसैगरि संगठनको संदर्भमा उक्त नियम “जनवादी केन्द्रीयता” को रुपमा लागु हुन्छ।किनभने जनवादी केन्द्रीयता जनवाद र केन्द्रीयता जस्ता दुईवटा विपरीतार्थक पदावलीहरु मिलेर बनेकोछ, जस अनुसार केन्द्रीयताको तात्पर्य “अनुशासन” र जनवादको तात्पर्य “स्वतन्त्रता” भन्ने हुन्छ। अर्का शब्दमा भन्नुपर्दा “केन्द्रीयता” भनेको सांगठनिक अनुशासन लाई पालना गर्नु हो भने “जनवाद” भनेको अनुशासनको दायरामा रहेर स्वतन्त्रताको उपभोग गर्नु हो। तसर्थ जनवादी केन्द्रीयताको द्वनदात्मक स्वरुप बारेको समझदारी अत्यन्त महत्वपूर्ण विषय बन्दछ।

    जनवादी केन्द्रीयताको अभ्यास: १.नीति निर्माण र नेतृत्व चयन: पार्टी वा संगठन सन्चालन गर्नका लागि नीति, नियमको निर्माण र नेतृत्वको चयन जस्ता विषयहरु अत्यावश्यक तत्वहरु हुन। त्यस प्रयोजनका लागि महाधिवेशन वा राष्ट्रीय सम्मेलन वा कतिपय अवस्थामा राष्ट्रीय भेला जस्ता महत्वपूर्ण कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ। पार्टी वा संगठनको सर्वोच्च निकाय भनेको महाधिवेशन, राष्ट्रीय सम्मेलन वा राष्ट्रीय भेलाहरु हुन्छन। किनभने ती निकायहरु मार्फत नै संगठनको समग्र नीति-कार्यक्रम र विधि-विधानको निर्माण एवम् नेतृत्व (केन्द्रीय) र समितिको चयन हुन्छ। त्यसैले केन्द्रीय समिति लगायत संगठनका सम्पूर्ण निकाय, अङ्ग तथा कार्यहरु महाधिवेशन वा राष्ट्रीय सम्मेलन द्वारा पारित नीति-कार्यक्रम र विधि-विधानको मतहतमा रहेर सन्चालन हुन्छन र हुनु पर्दछ।

    २. समिति, निर्णय र फरकमत: महाधिवेशन वा राष्ट्रीय सम्मेलन पछि संगठनको सर्वोच्च निकाय केन्द्रीय समिति हुन्छ। केन्द्रीय समिति लाई संठनको नीति, कार्यक्रम लगायत विधानहरुको व्याख्या एवम् विश्लेषण गर्ने अधिकार रहन्छ। त्यसैगरि सम्पूर्ण तल्ला समितिहरु केन्द्रीय समितिको र सदस्यहरु संगठनको मातहतमा रहन्छन।प्राय: बैठकमा निर्णय प्रकृया सर्वसहमति मार्फत गर्ने अधिकतम प्रयत्न हुनु पर्दछ तर सदैव त्यसतो सहमतिको अवस्था नहुन सक्दछ। अत: त्यसतो अवस्थामा मतदान प्रकृया मार्फत निर्णय लिनु पर्दछ। सामान्यत: नीति निर्माण सम्बन्धि निर्णय खुला मतदान र नेतृत्व चयन सम्बन्धी निर्णय गोप्य मतदान मार्फत गरीन्छ। नीति निर्माण सम्बन्धि निर्णय बढीमतीय प्रणाली र नेतृत्व चयन सम्बन्धी निर्णय बढीमतीय वा बहुमतीय प्रणाली मार्फत गर्न सकिन्छ। बढीमत वा बहुमतको निर्णय संगठनको निर्णय हुन्छ र त्यो कार्यान्वयनमा जान्छ। तर अल्पमत वा सदस्यहरुको कुनै निर्णयलाई लिएर फरकमत रहेछ भने फरकमतका रुपमा “निर्णय उपर टिप्पणी (Note of Dissent)” प्रस्तुत गर्न सक्छन। त्यसैगरि वैचारिक विषयमा “फरक मत (Dissenting Opinion)” प्रस्तुत गर्न सक्छन।

    ३. सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्व: सामान्यत: महाधिवेशन, सम्मेलन वा भेलामा नयां नेतृत्व र समिति निर्माणका लागि निश्चित संख्यामा नामावलि-सूची (Panel) प्रस्ताव प्रस्तुत गरिन्छ। उक्त प्रस्ताव पारित भए पश्चात सूचीमा रहेका हरेक व्यक्तिलाई मूख्य नेतृत्व (अध्यक्ष/महासचिव) मा उमेदवारी प्रस्तुत गर्ने र प्रतिस्पर्धा गर्ने अधिकार रहन्छ। तर बराबरी मघ्य पहिलो (First among the Equals) भन्ने सिद्धान्त अनुसार सूची मध्यबाट मूख्य नेतृत्व चयन गर्ने पद्धति अपनाउनु नै सहि तरिका हुन्छ। यसरी सामूहिक नेतृत्व चयन र निर्माण हुन्छ। त्यसैगरि संगठनको कुनैपनि तहको समितिमा कुनैपनि विषयमा निर्णय भैसकेपछि समितिका सबै सदस्यहरुले आ-आफ्नो फरक विचार र मतलाई थाती राखेर संगठनको निर्णयलाई विनाशर्त कार्यान्वयन गर्नु पर्दछ। त्यसरि आ-आफ्नो जिम्मवारीमा आएको कामलाई ईमानदारीका साथ सम्पादन गर्नु पर्दछ। त्यसोगर्नु नै व्यक्तिगत उत्तरदायित्व पूरागर्ने सहि र राम्रो तरिका हो।

    ४. आलोचना, आत्मालोचना र स्पष्टीकरण : संगठन, नेतृत्व र व्यक्ति द्वारा हुने गल्ती, मजोरीहरुलाई सुधार्नका लागि आलोचना र आत्मालोचनाको विधि अवलम्बन गरिन्छ। आफ्नो गल्ती, मजोरीहरु लाई आफु स्वयम्ले स्वीकार गरी पुन: नदोहोर्याउने प्रतिबद्धता जनाउनु आत्मालोचना हो भने अरुको गल्ती, मजोरीहरुलाई औंल्याएर देखाउनु आलोचना हो। किनभने आलोचना भनेको गाली-गलौज होईन। आलोचनाको विषय तथ्यगत र तर्कसंगत हुनु पर्दछ, कृत्रिम र बनावटी हुनुहुदैन। आलोचना मैत्रीपूर्ण हुनु पर्दछ र प्रत्यालोचना गर्नु हुदैन किनभने त्यसले आलोचनालाई अस्वस्थ बनाउंछ। आलोचनाको स्पष्टीकरण दिनु पर्दछ तर स्पष्टीकरण चित्तबुझ्दो नभएमा पूरक आलोचना गर्ने र पुन: स्पष्टीकरण दिने अभ्यास गर्नु पर्दछ। आलोचना स्वीकार नगरेर अस्वीकार गर्न पनि सकिन्छ तर स्पष्टीकरण चित्तबुझ्दो नभएको लागेमा समिति वा संगठनले गरेरै आलोचना गर्ने निर्णय गर्न पनि सक्दछ। आलोचना र आत्मालोचनाको पद्धतिले पिठ्युं पछाडि कुरा काट्ने (Back Biting) जस्तो अस्वस्थ प्रचलनमा कमी र सुधार ल्याउन निकैनै योगदान पुर्याउंछ। त्यसैगरि गोपनीयता भङ्ग गर्ने र कुरा चुहाउने (Loose Talk) जस्ता गम्भीर प्रकृतिका गल्ती, कमजोरीहरुमा धेरैहद सम्म नियन्त्रण गर्न सघाउ पुर्याउंदछ।

    ५. आन्तरिक जनवादको अभ्यास: पार्टी वा संगठनको जीवनमा विभिन्न विषयहरुमा आन्तरिक विवाद/संघर्ष (Inner Struggle) चल्ने सम्भावनाहरु सदैव कायम रहन्छन। एउटा जीवित संगठनमा त्यसतो प्रकृया स्वभाविक नै हुन्छ र हुनु पर्दछ। त्यसतो अवस्थाको उचित व्यवस्थापन गरेर पार्टी र संगठनको वैचारिक र सांगठनिक एकतालाई सुदृढ बनाउंदै अझै उच्च स्तरमा विकास गर्न आवश्यक पर्दछ। त्यसका लागि वैचारिक र सांगठनिक दुवै क्षेत्रमा उच्च स्तरको आन्तरिक जनवादको प्रयोग र अभ्यास गर्नु अपरिहार्य हुन्छ। संगठन भित्र विभिन्न विषयहरुका सम्बन्धमा भिन्न विचार र फरक दृष्टिकोणहरु विद्यमान रहनु स्वभाविक हो। यस सन्दर्भमा कमरेड माओ त्सेतुङ्गको “सयौं फूलहरु लाई फुल्न देऊ र सयौं विचारहरु लाई प्रतिस्पर्धा गर्न देऊ (Let a Hundred Flowers Bloom and Let a Hundred Schools of Thoughts Contend)” भन्ने उक्ति विशेषरुपमा मननीय हुन आउंछ। विचार र दृष्टिकोणहरु संग सम्बन्धित विषयहरु लाई व्यवस्थित छलफलको पद्धति अपनाएर टुङ्गोमा पुर्याउनु पर्दछ। त्यस प्रयोजनका लागि फोरम (Forum) संचालनको व्यवस्था गर्नु पर्दछ। त्यसका लागि भिन्न विचार एवम् फरक दृष्टिकोणहरु लाई समेटेर दस्तावेज प्रकाशन गर्नु पर्दछ र निश्चित समयावधि तोकेर छलफल गर्नु पर्दछ। यस प्रकारको प्रकृया भनेको विचार र दृष्टिकोण लाई परिमार्जन र विकाश गर्ने पद्धति पनि हो। यस प्रकृयामा संगठनको सम्पूर्ण सदस्यहरुले सहभागिता जनाउने अवसर प्रदान गर्नु पर्दछ। सामान्यत: त्यस प्रकारको छलफल महाधिवेशन वा राष्ट्रीय सम्मेलनका दौरानमा गरिने भएता पनि विशेष कारण र महत्व सहितको विषय-वस्तु उपस्थित हुन आएमा अन्य अवस्थामा पनि गर्नु पर्ने हुन्छ। त्यसैगरि संगठन निर्माण र नेतृत्व चयनको विषयमा “चुन्ने र चुनिने अधिकार” को अधिकतम रुपमा सकारात्मक प्रयोग गर्नु पर्दछ। यहां “चुन्ने” भन्नाले एकले अर्कालाई उमेदवार प्रस्तावित गर्ने र मतदान गर्न पाउने अधिकार हो भने “चुनिने” भन्नाले व्यक्ति स्वयम्ले आफ्नो उमेदवारी प्रस्तुत गर्न पाउने अधिकार हो। यसरी चुन्ने र चुनिने सम्बन्धी अधिकारको स्वच्छ एवम् स्वस्थ ढङ्गको अभ्यास बाट संगठन भित्र गुटबन्दी जस्तो सांगठनिक एकतालाई आंच पुर्याउने हर्कत देखापर्ने सम्भावना लाई निरुत्साहित तुल्याउन सहयोग पुग्दछ।

    ६. द्वन्दात्मक एकताको प्रवर्द्धन:द्वन्दवादी विश्व दृष्टिकोण अवलम्बन गर्ने र त्यस अनुरुपको सांगठनिक सिद्धान्त अपनाउने संगठनले संगठन भित्र एकमना एकताको माग होईन बरु द्वन्दात्मक एकता (Monolithic Unity Versus Dialectical Unity) कायम राख्दै त्यसको संवर्द्धन र प्रवर्द्धन गर्ने कुरामा जोड दिनु पर्दछ। त्यसको निम्ति जनवादी केन्द्रीयताको सचेत एवम् सिपालु ढङ्गले प्रयोग र अभ्यास सदैव अपेक्षित हुन्छ र गर्नु पर्दछ।त्यस सन्दर्भमा सर्वप्रथम जनवादी केन्द्रीयताको सिद्धान्तको मर्म (Secret) लाई बुझ्न र समझदारी लाई आत्मसाथ गर्न नितान्त आवश्यक हुन्छ। त्यसपछि मात्र त्यसलाई सहि र वैज्ञानिक ढङ्गले व्यबहारमा उतार्न सहज र सम्भव हुन्छ। त्यसका लागि प्रयोगात्मक अभ्यास, प्रशिक्षण र स्कूलिङ्गको समेत आवश्यकता पर्न सक्दछ। त्यसता चीजहरुको नियमित वा आवधिक आयोजना र व्यवस्थापन संगठनले मिलाउनु पर्दछ।

    ७. पार्टी र जनवर्गीय संगठनको अन्तर्सम्बन्ध:पार्टीले आफ्नो जनाधार फराकिलो बनाउन र जनसमर्थन जुटाउनका लागि विभिन्न प्रकारका जनवर्गर्गीय संगठनहरुको निर्माण गर्दछ। त्यस प्रयोजनका लागि पार्टीले निश्चित सङ्ख्यामा पार्टीका खास सदस्यहरु लाई जनवर्गीय संगठनहरुको नेतृत्वदायी अङ्गहरुमा पठाउन सक्दछ। पार्टीका नीति तथा निर्णयहरुलाई जनवर्गीय संगठनहरुमा लागुगर्नका लागि पार्टी सदस्यहरु रहेको फ्रयाक्सन (Fraction) समितिको निर्माण गर्नु पर्दछ। फ्रयाक्शनमा रहेका पार्टी सदस्यहरुले पार्टीको नीति र कार्यक्रमहरु सिपालु एवं कलात्मक ढङ्गले फ्रयाक्सन मार्फत जनवर्गीय संगठनहरुमा लागु गर्नु पर्दछ। फ्रयाक्सन समितिले आफ्नो अलग निर्णय भने गर्दैन किनभने त्यो पार्टीको अन्य तहगत समिति जस्तो होईन। त्यसले पार्टी र जनवर्गीय संगठनहरुका बिचमा पुलको काम गर्दछ। त्यसरि फ्रयाक्सन मार्फत पार्टी र जनवर्गीय संगठनहरुको अन्तर्सम्बन्ध कायम हुन पुग्दछ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ