• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    आन्तरिक तनाव चुलिँदै जाँदा ओली पक्षमै गहिरो दरार, प्रदीप ज्ञवालीले छाडे महाधिवेशनस्थल

    482
    SHARES

    काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशनमा पदाधिकारी चयनलाई लिएर देखिएको आन्तरिक तनाव चुलिँदै जाँदा अध्यक्ष केपी शर्मा ओली पक्षमै गहिरो दरार देखिन थालेको छ।

    महासचिव पदको विवाद केन्द्रमा रहँदा अध्यक्ष ओलीका नजिक मानिएका नेताहरू नै एकपछि अर्को गर्दै असन्तुष्ट हुँदै बाहिरिन थालेका हुन्।महासचिव पदका दाबेदार प्रदीप ज्ञवालीले विवादकै कारण बिहानै गुण्डुस्थित बैठकस्थल छाडेका थिए।

    ओली समूहले उपाध्यक्षमा राखेका ज्ञवालीले पछि भृकुटीमण्डपस्थित महाधिवेशनस्थलसमेत परित्याग गरेका छन्। पदाधिकारी टुंग्याउने प्रयासमा ओली पक्षभित्र देखिएको अन्योलले ईश्वर पोखरेल समूहलाई भने उत्साहित बनाएको छ।

    महासचिव नपाए कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा चार दिनअघि नै गुण्डुमा गरेका ज्ञवालीले अब केन्द्रीय सदस्यसमेत नबस्ने अडान लिँदै महाधिवेशनस्थल छाडेका हुन्। उनलाई रोक्न अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङलाई खटाएका थिए।

    तर शंकर पोखरेललाई महासचिव बनाउने तयारी भएपछि असन्तुष्ट बनेका विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ ज्ञवालीको पक्षमा खुलेका छन्। यसैक्रममा उपाध्यक्षमा राखिएका वर्तमान उपमहासचिव गुरुङले पनि कडा चेतावनी दिएका छन्।

    यदि प्रदीप ज्ञवालीलाई महासचिवमा उम्मेदवारी दिन नदिइए आफूले पनि कुनै पदमा मनोनयन दर्ता नगर्ने चेतावनी गुरुङले अध्यक्ष ओलीलाई दिएको प्रत्यक्षदर्शी नेताहरूले बताएका छन्।

    ‘प्रदीप ज्ञवालीलाई बोलाएर महासचिव पदमा अघि नबढाइए म पनि उम्मेदवारी दिंदिनँ,’ गुरुङको भनाइ उद्धृत गर्दै ती नेताले बताए। ओली समूहभित्रकै यो असन्तुष्टिले महाधिवेशनको नेतृत्व चयन झनै जटिल बन्दै गएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ