• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कोटीहोमका लागि रुख काटेका ७ जनाविरुद्ध ४ महिनापछि मुद्दा दायर

    1.8K
    SHARES

    पोखरा । केही समयअघि पोखरामा आयोजित ‘कोटीहोम महायज्ञ’का लागि रुखहरू अवैधानिक रूपमा काटिएको घटनाले ठूलो विवाद निम्त्याएको थियो।

    सार्वजनिक आलोचना र विरोधपछि महायज्ञ स्थल समेत परिवर्तन गरी बिरौटामा सारिएको थियो। अब भने उक्त घटनासँग सम्बन्धित सातजनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

    डिभिजन वन कार्यालय, कास्कीले पोखराको विभिन्न वडामा रहेका पुराना चौतारीका बर, पीपललगायतका ३३ वटा रुख अवैधानिक रूपमा काटिएको अभियोगमा उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरेको हो।

    अभियुक्तहरूमा मानवसेवा फाउण्डेसन नेपालका प्रबन्धक विष्णुराज गिरी, पोखरा–१४ शुभमार्ग टोलका ताराप्रसाद तिवारी र योगमाया बराल, राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की र रामकृष्ण अधिकारी, तथा साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेल रहेका छन्।

    वन कार्यालयका प्रमुख कोमलराज काफ्लेका अनुसार, कोटीहोम महायज्ञका लागि समिधा संकलन गर्ने भन्दै रुखहरू काट्दा वन ऐन, २०७६ र वन नियमावली, २०७९ अनुसारको कानुनी प्रक्रिया पालना गरिएको थिएन। अनुसन्धानमा रुखका हाँगाहरू काटेर बिक्रीसमेत गरिएको प्रमाण फेला परेको उनले जानकारी दिए।

    कानुनअनुसार, अवैधानिक रूपमा रुख काट्नेलाई बिगो असुल गर्ने व्यवस्था हुनुका साथै दश हजार रुपैयाँसम्म जरिवाना, ६ महिना कैद वा दुवै सजाय तोकिएको छ। यही प्रावधानअनुसार मुद्दा दायर गरिएको काफ्लेले बताए।

    घटना सार्वजनिक भएपछि पोखरामै नागरिक तहबाट तीव्र विरोध भएको थियो। पोखरा पक्षी समाज, मेरो नेपाल युवा क्लब, वातावरण संरक्षणका लागि महाअभियान कास्की, नागरिक समाज कास्की लगायतका संघसंस्थाहरूले दोषीहरूलाई कारबाही गर्न माग गर्दै वन कार्यालयमा निवेदन दिएका थिए।

    यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयमा समेत उजुरी परेपछि पोखरा महानगरपालिकाले काटिएका दाउरा जफत गरेको थियो। लामो अनुसन्धानपछि डिभिजन वन कार्यालयले अन्ततः मुद्दा अगाडि बढाएको हो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ