मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले साउन २७ गतेको बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
मुख्यमन्त्री बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन्।
त्यस्तै सूचनामा प्रदेश सभा बैठक बस्नु अघि दिउँसो १ बजे एमाले संसदीय दलको बैठक बस्ने भएकाले दलको कार्यालयमा उपस्थित हुन सांसदहरूलाई सूचित गरिएको छ ।
यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको थियो । शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जनले एक सूचना सम्प्रेषण गर्दै मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा अनिवार्य उपस्थित हुन निर्देशन गरेका थिए ।
कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। ११० सदस्य रहेको बागमती प्रदेशसभामा बानियाँलाई विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक रहन्छ ।
प्रतिक्रिया