
रुपन्देही । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्या आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणका लागि डाइभर्ट गरिएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार, जहाजमा ८२ जना यात्रु (जसमा २ बच्चा पनि समावेश छन्) सवार थिए। जहाजमा हाइड्रोलिक समस्या देखिएपछि पाइलटले तत्काल भैरहवामा अवतरण गराएका हुन्।
राउतलेसँग भने,“पाइलटबाट हाइड्रोलिक समस्या भएको जानकारी आएको थियो। तत्काल रेस्क्यु गरी सबै यात्रु सुरक्षित अवतरण गराइयो। अहिले अर्को जहाजबाट काठमाडौं पठाउने तयारी भइरहेको छ। केही समय आन्तरिक उडानमा समस्या भयो, तर अहिले सो विमानलाई साइडमा लगाएर सामान्य अवस्थामा संचालन गरिसकिएको छ।”
श्री एयरलाइन्सका प्राविधिक टोली काठमाडौंबाट भैरहवामा आएर जहाजको पूर्ण प्राविधिक जाँच गर्नेछन्। जाँचपछि मात्रै जहाजको वास्तविक अवस्था र समस्या समाधानको विवरण उपलब्ध हुने विमानस्थलले जनाएको छ। यस घटनामा कुनै यात्रु वा कर्मचारीको ज्यानको क्षति नभएको र सबैको अवस्था सामान्य रहेको जानकारी पनि दिइएको छ।



प्रतिक्रिया