
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनकै कार्यकक्ष पुगेका थिए । कांग्रेसका प्रमुख सचेतक घिमिरेले अनौपचारिक भेटघाट भएको बताए ।
घिमिरे आफू प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताउँछन् । ‘चिया–कफी खाँउ भनेर गएका थियौं । अनौपचारिक कुराकानी भयो । संसद् पुनर्स्थापनाबारे पनि कुराकानी भयो । म संसद् पुनर्स्थापनाकै पक्षमा हो । संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्छ भन्ने हो । यसका लागि संसद् पुनर्स्थापना हुनुपर्छ,’ उनले भने ।
गत २७ भदौमा प्रतिनिधिसभा विघटन भएको थियो । आगामी २१ फागुनका लागि चुनावको मिति तय भएको छ । निर्वाचन तयारी अन्तर्गत निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । आगामी ६ माघमा उम्मेदवारी दर्ताको समय छ ।
यता निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय सुरु भएको छ । आजदेखि यही १० मंसिरसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने समय सीमा छ ।
कांग्रेस र एमाले भित्र भने प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव भन्ने बहस चलिरहेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले यो विषयमा निर्णय लिएको छैन । एमालेले भने प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिसकेको छ ।
कांग्रेस र एमालेले विघटित प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर समेत संकलन गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा विघटित प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर संकलन गरेका दुवै दलका प्रमुख सचेतकले सभामुख घिमिरेसँग यो विषयमा छलफल गरेका हुन् ।



प्रतिक्रिया