
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सोमबारदेखि सुरु हुन लागेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार अपराह्न चार बजे सुरु हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने छन् । लिगका ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुने क्यानले जनाएको छ । मंसिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् ।
एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरि आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको सबै तयारी यसअघि नै सम्पन्न भइसकेको छ । क्रिकेट रङ्गशालामा प्रथम चरणमा निर्मित प्यारापिट र फ्लडलाइट सरकारले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई हस्तान्तरण गरेसँगै परीक्षण सम्पन्न भइसकेको छ ।
रङ्गशालामा ६ वटा फ्लडलाइट र १० हजार क्षमताको प्यारापिट निर्माण गरिएको छ । क्यानले एनपीएलबाट ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरेको छ ।
यो आम्दानी स्पोन्सरसिप, टिकट बिक्री, टिम ओनरबाट प्राप्त रकम र ओटीटी प्रसारण अधिकारलगायतका विभिन्न स्रोतबाट सङ्कलन हुने क्यानले जनाएको छ।
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले दिएको जानकारीअनुसार, टिम ओनर पक्षबाट हालसम्म करिब ९ करोड रुपैयाँ जुटिसकेको छ। यस्तै, ओटीटी प्रसारण अधिकारबाट ५ करोड ३० लाख रुपैयाँ प्राप्त हुनेछ, जसलाई यसपटक लिगको प्रमुख आम्दानीको स्रोत मानिएको छ।
खड्काका अनुसार, टिकट बिक्रीबाट न्यूनतम ८ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म उठाउने लक्ष्य राखिएको छ । मुख्य तथा अन्य स्पोन्सरसिपबाट भने करिब १५ करोड रुपैयाँसम्मको प्याकेज सुरक्षित भएको छ।
यसैगरी क्यानले हरेक दिन ९ हजार ५०० टिकट बेच्ने जनाएको छ । क्यानका सचिव पारस खड्काका अनुसार यस वर्ष प्रत्येक दिन ९ हजार ५०० टिकट बेच्ने र एक हजारसम्मको पास वितरण गर्ने बताए।
खड्काले भिड नियन्त्रण गर्नका लागि कम सङ्ख्यामा टिकट बेच्न लागिएको जानकारी दिए। गत सिजन क्यानले हरेक दिन १० हजार टिकट र २ हजार पास वितरण गरेको थियो। यसैबीच एनपीएल हेर्न सवारी साधन लिएर जाने दर्शकका लागि पार्किङस्थल तोकिएको छ ।
भीभीआईपीका सवारी साधनलाई टियु ग्राउण्ड मेन गेट भित्र, दर्शकका सवारी साधनलाई तीनकुने नजिकको ग्राउण्ड, घडी आइल्याण्डको नजिकको ग्राउण्ड,आयुर्वेदिक अस्पताल परिसर, टियुगेटदेखि भीसी कार्यालयसम्मको सडक किनार, सुन्दरीघाट सानेपा खोला करिडोर तोकिएको छ । जथाभाबी पार्किङ नगरी तोकिएको स्थानमा मात्र पार्किङ गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।



प्रतिक्रिया