काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठकहरू आज (बिहीबार) बस्ने भएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ।
बैठकमा दुई महत्त्वपूर्ण विधेयकहरू पेस गरिने कार्यसूची रहेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट पारित भइसकेको ‘तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गर्ने तयारी रहेको छ।
यसबाहेक, प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र राष्ट्रिय सभाका दुई समितिहरू— सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिका बैठकहरू पनि आजै बस्नेछन्।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ मा दर्ता गरिएका संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ। विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ मा दफावार छलफल गरिनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरेको छ।
प्रतिक्रिया