कैलाली । प्यालेस्टिनी लडाकु समूह ‘हमास’को नियन्त्रणमा रहँदा ज्यान गुमाएका विपिन जोशीको पार्थिव शरीर अन्ततः उनको घरमा पुर्याइएको छ। सोमबार राति करिब सवा ८ बजे जोशीको शव धनगढी हुँदै भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलस्थित उनको निवासमा ल्याइएको हो।
पार्थिव शरीर घर पुग्नेबित्तिकै परिवारका सदस्य, आफन्त र छिमेकीहरूबीच शोकाकुल माहोल सिर्जना भएको थियो। लामो प्रतीक्षापछि घरमा विपिनको शव पुग्ने खबर सुनेका कैयौँ छिमेकीहरू विगत केही दिनदेखि नै शोकमा थिए। सोमबार लक्ष्मी पूजा तथा दीपावलीको दिन भए पनि जोशीको शव आउने जानकारी पाएपछि छिमेकीहरूले दीपावली नमनाई मौन श्रद्धाञ्जलि अर्पण गरेका थिए।
लक्ष्मी पूजाको अवसरमा सर्वत्र झिलिमिली हुँदा पनि यो टोल सामान्य रह्यो । जोशीको शव सोमबार काठमाडौँबाट धनगढी हुँदै घरमा ल्याइने भएपछि छरछिमेकीले दीपावली नमनाएका हुन् । विपिन जोशीको अन्त्येष्टि मंगलबार गरिने भएको छ।
प्रतिक्रिया