
टवल । रास्वपाका सभापति रवि लामिछाने न्यायको लडाईं बाँकी रहेको बताएका छन् ।
भैरहवास्थित जिल्ला कारगारबाट छुटेपछि लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यको तुलनामा केही पनि नभएको बताए । आफू बोल्ने समय आउने भन्दै उनले हिसाबकिताब गर्न बाँकी रहेको बताए ।
‘न्यायको यो लडाईं मेरो बाँकी नै छ, मैले अझ धेरै लड्नु छ र मैले अहिले लड्नुपर्छ लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि यो देशको न्यायका लागि लड्नुपर्ने छ भनेको हो,’ लामिछानेले भने, ‘यिनीहरूले यो देश माथि गरेको अन्यायको अगाडि म माथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नुछ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौंला, आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।’
रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले उच्च अदालतको आदेशअनुसार केही सर्त र बैंक जमानतको कागज गरेर छाडेको बताए ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो धरौटीमा छोड्न आदेश दिएको थियो ।
बिगो बापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् ।



प्रतिक्रिया