• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एमाले महाधिवेशन: २२ घण्टापछि सकियो मतदान, तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने

    288
    SHARES

    काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । यो ९८.०४ प्रतिशत हो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका छन् ।

    बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज (बिहीबार) बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए ।

    मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन भएको एमालेको महाधिवेशन मङ्सिर २८ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रका रूपमा प्रवेश गरेको थियो । २८ गते बिहान ७ः३० बजे सुरु हुने भनिएको बन्दसत्र अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटी बैठकका कारण दिउँसो ३ः३० बजे मात्र सुरु भएको थियो ।

    नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदानको कार्यतालिका सार्वजनिक गरिए पनि पटक–पटक सर्दै मतदान पुस २ गते बिहान ९ः३० बजेबाट सुरु भएको थियो । अध्यक्ष पदका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ ।

    त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा पनि दुई जनाबिच मात्र प्रतिस्पर्धामा उत्रिएका छन् । महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

    विधानअनुसार पाँच जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जना नेताहरूले उम्मेदवारी दिएका छन् । यस्तै, तीन जना निर्वाचित हुने उपमहासचिव पदमा छ जनाको उम्मेदवारी परेको छ ।

    नौ सिट रहेको सचिव पदमा सबैभन्दा बढी आकर्षण देखिएको छ । सचिव पदका लागि २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन् । सचिव बन्नका लागि गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राई लगायतका नेताहरूले उम्मेदवारी दिएका छन् ।

    यसअघि मङ्सिर २८ गते १० महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै भदौ २०–२२ गते गोदावरीमा भएको विधान महाधिवेशनले गरेको निर्णय उल्टाएको थियो । विधान महाधिवेशनले केन्द्रीय कमिटीको आकार २५१ सदस्यीय पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो ।

    अध्यक्ष केपी शर्मा ओलीले २८ गतेको अन्तिम केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको आकार बनाउने प्रस्ताव राखेका थिए । सोही अनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना बनाइएको थियो । वरिष्ठ उपाध्यक्ष पद थपिएन । विगतमा सो पद रहेको थियो ।

    निर्वाचन आयोगले २८ गते आइतबार साँझ निर्वाचन कार्यतलिका प्रकाशन गरेको थियो । आइतबार प्रकाशन गरिएको कार्यतालिका अनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहे पनि पटक पटक संशोधन हुँदै मंगलबार साँझ पुर्‍याइएको थियो । मंगलबार साँझ अन्तिम समयमा प्राविधिक कारण देखाउँदै मतदान पुस २ गते बुधबार बिहान ८ बजेलाई सारिएको थियो । बिहान ८ बजे देखि हुने भनिएको मतदान साढे एक घण्टा ढिला गरी ९ बजेमात्र सुरु भएको थियो ।

    मतदान सम्पन्न भएसङ्गै मुचुल्का उठाउने काम सुरु भएको छ । मतगणना सुरु भएको तीन घण्टामा सम्पुर्ण मतपरिणाम आईसक्ने जानकारी निर्वाचन आयोगले दिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ