
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुने तय भए पनि प्राविधिक र व्यवस्थापकीय कारणले एक दिनका लागि सारिएको थियो।
मंगलबार साँझ करिब ७ बजे मतदान प्रक्रिया स्थगित गरिएपछि आज बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको हो। मतदान स्थल भृकुटीमण्डप नै रहे पनि हल भने परिवर्तन गरिएको निर्वाचन समितिले जनाएको छ।
यसपटक एमालेले विद्युतीय (इलेक्ट्रोनिक) मतदान प्रणाली प्रयोग गर्दैछ। मतदानका लागि आवश्यक प्राविधिक तयारी मंगलबार नै सम्पन्न भइसकेको जनाइएको छ। निर्वाचनका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन जडान गरिएको छ।
रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनमार्फत हुने मतदानमा कुल २ हजार २६३ जना प्रतिनिधि सहभागी हुनेछन्।
नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। यसैबीच, केही केन्द्रीय सदस्य तथा पार्टीका आयोगका पदाधिकारी र सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेका छन्।
आजको मतदानसँगै एमालेको भावी नेतृत्वको दिशा तय हुने भएकाले महाधिवेशनलाई निर्णायक चरणको रूपमा हेरिएको छ।



प्रतिक्रिया