
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको करिब चार वर्षमै तीन लाख पार्टी सदस्य पुगेका छन्। पार्टीले देशका अधिकांश जिल्लामा संगठन विस्तार गरे पनि अझै तीन हिमाली जिल्लामा संरचना गठन हुन बाँकी रहेको जनाएको छ।
रास्वपाका अनुसार हालसम्म ७७ मध्ये ७४ जिल्लामा पार्टीको संगठनात्मक संरचना विस्तार भइसकेको छ भने बाँकी रहेका हिमाली जिल्लाहरूमा स्थानीय स्तरमा काम अघि बढाइँदै छ। पार्टीले हालसम्म ७५३ स्थानीय तहमध्ये ५५० पालिका र ४ हजार वडामा समिति गठन गरिसकेको जनाएको छ। तीमध्ये २ हजार ५ सय वडामा र ५० पालिकामा पार्टी अधिवेशन सम्पन्न भइसकेको छ।
रास्वपाले देशभर मात्रै होइन, ३५ देशमा पनि आफ्नो संगठन विस्तार गरेको दाबी गरेको छ। विदेशमा रहेका नेपालीहरूबीच पार्टीको जनआकर्षण बढ्दै गएको रास्वपाको भनाइ छ। रास्वपाको वर्तमान संरचनाअनुसार ६२ सदस्यीय केन्द्रीय समिति, एक सल्लाहकार परिषद्, २ वटा आयोग, ३८ विभाग, ७ प्रदेश समिति र ती अन्तर्गतका विभागहरू गठन भइसकेका छन्। पार्टीले संगठन सुदृढीकरण र ग्रासरुटमा विस्तारलाई मुख्य प्राथमिकता दिएको छ।
पार्टीले देशका सबै पालिका र वडासम्म पुग्न अझै समय लाग्ने स्वीकार गर्दै भनिएको छ- “पार्टीमा जतिसुकै उत्साहका साथ लागे पनि सबै तहमा संगठन पुर्याउन नसकिएको यथार्थता हामी स्वीकार गर्छौं।” तर, रास्वपाको दाबी अनुसार विभिन्न लान्छना, झुटा आरोप र राजनीतिक प्रतिशोधका प्रयासबीच पनि पार्टी कमजोर नभई अझ बलियो बनेर अघि बढिरहेको छ।
रास्वपाका अनुसार सभापति रवि लामिछानेमाथि लगाइएका झुटा मुद्दा र अफवाहले उल्टै पार्टीलाई जनस्तरमा सहानुभूति र समर्थन दिलाएको छ। पार्टीको भनाइ छ, “हाम्रो विरुद्धको दुष्प्रचारले रास्वपाको संगठन कमजोर होइन, बरु अझ बलियो बनाएको छ।”



प्रतिक्रिया