
काठमाडौं । लगातार दुई दिनदेखि सुनको मूल्यमा तीव्र गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँ पुगेको छ।
मंगलबार प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ रहेको सुन बुधबार फेरि घट्दै गएको हो। अघिल्लो दिन पनि सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको थियो। यसरी लगातार दुई दिनमा सुनको मूल्य कुल २५ सय रुपैयाँले घटेको छ।
असोज ३१ गते सुनको मूल्यले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो। त्यस यता सुनको मूल्य २० हजार ८ सय रुपैयाँले घटिसकेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। बुधबार चाँदी तोलामा २५ रुपैयाँले घटेर २ हजार ९९० रुपैयाँमा झरेको छ। अघिल्लो दिन यसको मूल्य ३ हजार १५ रुपैयाँ थियो। असोज ३१ गते चाँदीले प्रतितोला ३ हजार ३५० रुपैयाँको रेकर्ड मूल्य कायम गरेको थियो, जसबाट हालसम्म ३६० रुपैयाँले गिरावट आएको छ।
वित्तीय विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य घट्दै गएपछि यसको असर नेपाली बजारमा पनि परेको हो।



प्रतिक्रिया