
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट अलग भएका नेताहरूले माओवादी केन्द्रसँग एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्। पोलिटब्युरो सदस्य मिलन सीको नेतृत्वमा रहेको समूहले काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमार्फत तत्काल एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ।
मिलन सीले पत्रकार सम्मेलनमा भने, “समाजवादी मोर्चामा रहेका कम्युनिस्ट र समाजवादी पार्टीहरूबीचको एकता प्रक्रियालाई अघि बढाउने र त्यसमा सहभागी हुने सर्वसम्मत निर्णय गरेका छौँ।” उनका अनुसार, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रिय कमिटीका करिब ९० प्रतिशत सदस्य एकताको पक्षमा उभिए पनि महासचिव विप्लव अन्तिम समयमा एकता प्रक्रियाबाट पछि हटेपछि आफूहरू विद्रोह गर्न बाध्य भएको बताए।
मिलन समूहले माओवादी केन्द्रसँगको एकतालाई “क्रान्तिकारी वाम शक्तिहरूबीचको ऐतिहासिक पुनर्मिलन” का रूपमा चित्रण गर्दै जनताको आन्दोलन र समाजवादी परिवर्तनका लक्ष्यहरूलाई एकीकृत ढङ्गले अघि बढाउने प्रतिबद्धता जनाएको छ।
पार्टी स्रोतका अनुसार, नयां संरचनात्मक रूपरेखा र संयुक्त राजनीतिक दस्तावेजका प्रारम्भिक मसौदा तयार गर्ने काम सुरु गरिएको छ। केही दिनमै शीर्ष नेताहरूबीच औपचारिक सहमति र संयुक्त घोषणा हुने अपेक्षा गरिएको छ। यसअघि नेकपा (विप्लव) र माओवादी केन्द्रबीच वाम एकताको सम्भावनाबारे पछिल्ला महिनाहरूमा निरन्तर संवाद चलिरहेको थियो।



प्रतिक्रिया