
 
 काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनसम्बन्धी विवाद मिलाउनका लागि भएको तीन पटकको प्रयास असफल भएपछि बैठक दुई दिनका लागि सारिएको छ। शुक्रबार १ बजे बस्ने भनिएको बैठक अब आइतबार दिउँसो १ बजे बस्ने भएको छ।
पार्टीभित्रको विवाद मुख्य रूपमा आगामी महाधिवेशनको मिति र कार्यतालिकामा केन्द्रित छ। डा. शेखर कोइराला नेतृत्वको इतर समूहले आगामी मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएको छ। समूहका नेता कोइरालाका अनुसार, शेरबहादुर देउवा नेतृत्वको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद मंसिर मसान्तमा सकिने भएकाले समयमै नयाँ नेतृत्व चयन आवश्यक छ।
यसैगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्। थापाले मंसिर २७–२९ गतेसम्मको महाधिवेशन कार्यतालिका सार्वजनिक समेत गरिसकेका छन्। त्यस्तै, संस्थापन समूहले प्रतिनिधिसभा निर्वाचन (फागुन २१) पछि मात्र महाधिवेशन गर्नुपर्ने र त्यसपछि वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने अडान राखेको छ।
शुक्रबार बिहान डा. कोइरालाले आफ्नो कार्यालय विशालनगरमा पदाधिकारीहरूसँग बैठक राखेका थिए। त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गोल्फुटारस्थित निवासमा महामन्त्री थापा र शर्मासँग कार्यतालिका र एजेन्डाबारे छलफल गरेका थिए। तर, सहमति हुन नसकेपछि बैठक आइतबारसम्म स्थगित गरिएको हो।
कोइरालाले पार्टी अप्ठ्यारो अवस्थामा रहेको भन्दै सबै पक्ष एकजुट भएर नियमित महाधिवेशन गर्नुपर्ने बताए। उनले भने, “नियमित महाधिवेशन गर्नुको विकल्प हामीसँग छैन। एकताबद्ध भएर दबाब नदिइए पार्टी धरापमा पर्छ।” नेताहरूका अनुसार, सहमति खोज्न कार्यवाहक सभापतिले समय मागेपछि बैठक दुई दिनका लागि सारिएको हो।




प्रतिक्रिया