
 
 काठमाडौँ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ बेंसीसहरस्थित घरमा अज्ञात समूहले ढुङ्गा प्रहार गरी तोडफोड गरेको छ। प्रेस चौतारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण र कडा निन्दा व्यक्त गरेको छ।
चौतारीका महासचिव हीरामान लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको संस्थाका केन्द्रीय अध्यक्षकै घरमा भएको यस्तो आक्रमण अत्यन्त गम्भीर र निन्दनीय कार्य हो।”
विज्ञप्तिमा यो आक्रमण योजनाबद्ध र पूर्वनियोजित रूपमा गरिएको निष्कर्ष निकालिएको छ। “गत भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजना फैलाइ घरमा आक्रमण गर्न आह्वान गरिनु र गएराति वास्तविक आक्रमण हुनुले यो षड्यन्त्रपूर्वक आयोजना गरिएको स्पष्ट देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ।
प्रेस चौतारीले कलमजीवीहरूलाई डराउने, धम्क्याउने वा दबाउने प्रयास कहिल्यै सफल नहुने चेतावनी दिंदै घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीहरूलाई कानुनी कठघरामा उभ्याउन सुरक्षा निकाय र प्रशासनसँग माग गरेको छ।
ढुङ्गा प्रहारबाट अध्यक्ष पाण्डेको घरका झ्यालका सिसा फुटेका र ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको चौतारीले जनाएको छ।




प्रतिक्रिया