
 
 काठमाडौं । न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै नर्सहरू शुक्रबार देशव्यापी रूपमा आन्दोलित भएका छन्। सरकारी अस्पतालका नर्सहरूले समेत एक्यबद्धता जनाउँदै निजी तथा सामुदायिक अस्पतालका नर्सहरूसँगै विरोध प्रदर्शन गरेका हुन्।
नर्सिङ संघ नेपालले अघि सारेको १५ बुँदे माग पूरा गर्नुपर्ने मागसहित बिहान १० देखि १२ बजेसम्म देशभरका अस्पतालहरूमा नर्सहरूले प्रदर्शन गरेका थिए।
संघका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२ असोज २४ गतेको पत्र कार्यान्वयन गर्दै स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह हुनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारी प्रणाली अन्त्य गर्नुपर्ने र तलब-भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने प्रमुख मागहरू हुन्।
त्यसका साथै दक्ष नर्सिङ जनशक्तिलाई श्रमिकको रूपमा होइन, स्वास्थ्य ऐन अन्तर्गतको दक्ष स्वास्थ्यकर्मीका रूपमा व्यवस्थापन गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन्। सिभिल अस्पतालमा कार्यरत नर्स विमला पौडेलका अनुसार, “नर्सहरूलाई सम्मानजनक पारिश्रमिक र सुविधा बिना गुणस्तरीय सेवा दिन कठिन छ। सरकारका प्रतिबद्धता व्यवहारमा नआउँदासम्म हामीको आन्दोलन जारी रहनेछ।”
नर्सिङ संघले १८ कात्तिकसम्म माग सम्बोधन नभए थप कठोर आन्दोलनमा जाने चेतावनी दिएको छ। संघले श्रमको सम्मान नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेको छ।



प्रतिक्रिया