
मनाङ। अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रा एक साताका लागि रोकिएको छ। लगातारको हिमपात र त्यसपछि पनि कायम रहेको हिमपहिरोको जोखिमका कारण जिल्ला प्रशासन कार्यालय मनाङले पदयात्रामा अस्थायी प्रतिबन्ध लगाएको हो।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार हिमपात रोकिए पनि पहिरो खस्ने जोखिम अझै उच्च भएकाले सुरक्षाको दृष्टिले आगामी एक सातासम्म पदयात्रा नगर्न आग्रह गरिएको हो।
‘सोमबार रातिदेखिको हिमपातले बाटो पूर्ण अवरुद्ध भएको थियो। डोजर प्रयोग गरेर हिउँ पन्छ्याएपछि सडक त खुलाइएको छ, तर खाङसारभन्दा माथिल्लो क्षेत्रसम्मको पदमार्ग अझै सुरक्षित छैन,’ पौड्यालले भने।
उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रभित्रका हिउँले ढाकिएका बाटोहरू क्रमशः खुल्दै गएका छन् तर पदयात्रा मार्गमा हिँड्ने अवस्था अझ बनेको छैन।
हिमपातका कारण करिब १,५०० आन्तरिक तथा बाह्य पर्यटकलाई मंगलबार उद्धार गरिएको थियो। तीमध्ये करिब २०० जना विदेशी पर्यटक रहेका थिए। यस्तै, तिलिचो आधारशिविरतर्फ गएका करिब ४०० पर्यटक हिमपात र जोखिमका कारण फर्किन बाध्य भएका थिए।



प्रतिक्रिया