
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्माण गरिएको ट्राफिक प्रहरी कन्ट्रोल रुम मंगलबार औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा पुनर्निर्मित कन्ट्रोल रुम अब पुनः सञ्चालनमा आएको हो।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले कन्ट्रोल रुमको साँचो काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीलाई हस्तान्तरण गरे।
उद्घाटन समारोहमा एआइजी कार्कीले सहकार्यका लागि एनआरएनएप्रति धन्यवाद व्यक्त गर्दै भने, “सहरको विकास ठूला सवारीसाधनका सडकले मात्र मापन हुँदैन, मान्छे हिँड्ने फुटपाथको अवस्था र ट्राफिक व्यवस्थापनको स्तरले पनि सहरको अनुहार देखाउँछ।”
उनले जेन–जी आन्दोलनका क्रममा तोडफोड भएका सिसिटिभीहरू पुनःस्थापना गरी कन्ट्रोल रुमबाट अब पुनः ट्राफिक व्यवस्थापनको प्रत्यक्ष अनुगमन सुरु भएको बताए। उनका अनुसार अब नियम उल्लङ्घन गर्नेहरूलाई निगरानीमा राखेर कारबाही गरिने र नियम पालना गर्नेहरूलाई सम्मानका साथ व्यवहार गरिनेछ।
एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले भने कन्ट्रोल रुममा जडित प्रविधिले सवारी दुर्घटना नियन्त्रण, ट्राफिक व्यवस्थापन सुधार र अपराध न्यूनीकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे। “यो प्रविधि केवल ट्राफिक नियन्त्रणको लागि होइन, सहरको सुरक्षा र अनुशासन सुनिश्चित गर्ने दिशामा पनि एउटा महत्त्वपूर्ण कदम हो,” उनले भने।
श्रेष्ठले एनआरएनएले निकट भविष्यमा ब्रेथलाइजर उपकरण पनि ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी गराए। उद्घाटन कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू र तीन जना उत्कृष्ट ट्राफिक प्रहरीहरूलाई कदरपत्र प्रदान गरेको थियो।
पुनर्निर्मित कन्ट्रोल रुममा अत्याधुनिक सिसिटिभी प्रणाली, डिजिटल ट्र्याकिङ सफ्टवेयर, र उच्च क्षमताका अनुगमन स्क्रीनहरू जडान गरिएको छ, जसले उपत्यकाभित्रका मुख्य सडक, चोक र संवेदनशील क्षेत्रहरूको वास्तविक समयको निगरानी सम्भव बनाउनेछ।



प्रतिक्रिया