• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मौसम सफा नभएसम्म पदयात्रामा नजान कास्की प्रशासनको आग्रह

    229
    SHARES

    गण्डकी । गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा लगातार वर्षा र हिमपात भइरहेको कारण कास्की प्रशासनले यात्रुहरूलाई पदयात्रामा नजान आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै सबै पदयात्री, पर्यटन व्यवसायी र सरोकारवालालाई सतर्क रहन अनुरोध गरेको हो।

    प्रशासनले विशेष गरी अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै डाँडा, कोरी लगायतका लोकप्रिय पदयात्रा मार्गहरूमा अहिले मौसम अत्यन्त प्रतिकूल रहेको जनाएको छ। “मौसम सफा नभएसम्म यस्ता उच्च भेगका क्षेत्रतर्फ पदयात्रा नगर्न सबैमा अनुरोध छ,” सूचनामा उल्लेख गरिएको छ।

    सूचनामा लेक लाग्ने समस्या, हिउँपात र चिप्लिने जोखिमका कारण पर्यटकहरूलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ। साथै, जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई निरन्तर पालना गर्न र यात्रापूर्व गन्तव्यका अवस्थाबारे जानकारी लिएर मात्रै प्रस्थान गर्न आग्रह गरिएको छ।

    प्रशासनले पदयात्रामा जाँदा एक्लै नगई समूहमा जान, हत्तार नगरी बिस्तारै उचाइतर्फ उक्लिन, र खाना तथा आवासका लागि अग्रिम बुकिङ गर्न सुझाव दिएको छ। त्यसैगरी, यात्राका क्रममा न्यानो कपडा (जस्तै ज्याकेट, टोपी, पञ्जा), तातो पानीसहितको थर्मस, र लेक लाग्दा प्रयोग हुने औषधि अनिवार्य रूपमा साथमा राख्न भनिएको छ।

    सार्वजनिक सूचनामा भनिएको छ, “पदयात्रा गर्दा पर्याप्त मात्रामा तातोपानी, जीवनजल र झोलिलो खानेकुरा सेवन गर्नुपर्छ। धुम्रपान र मद्यपान नगर्नु स्वास्थ्यका दृष्टिले पनि आवश्यक छ।” गण्डकी प्रदेशका विभिन्न पर्यटन क्षेत्रहरूमा अहिले देशी–विदेशी पर्यटकहरूको चहलपहल बढ्दै जाँदा प्रशासनले यो सावधानीपूर्ण अनुरोध गरेको हो। हाल प्रदेशका अधिकांश उच्च पहाडी क्षेत्रहरूमा हिउँ जम्ने, बाटो अवरुद्ध हुने र तापक्रम घट्ने क्रम जारी छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ