
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता प्रक्रियाका लागि आज निर्वाचन आयोग जाँदैछ। आयोगमा पार्टी दर्ताको औपचारिक प्रक्रिया अघि बढाउन नेताहरु सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, कर्णजित बुढा लगायतका वरिष्ठ नेताहरु वकिलहरूको टोलीसहित आयोगको केन्द्रीय कार्यालय, कान्तिपथ पुग्ने तयारीमा छन्।
विप्लव नेकपाले केही महिनादेखि पार्टी दर्ता प्रक्रिया अघि बढाउने तयारी गर्दै आएको छ। यसअघि पनि उनीहरु निर्वाचन आयोग पुगेका थिए, तर आवश्यक केही कागजात नपुगेका कारण फाइल अपूर्ण रहेको भन्दै आयोगले पुनः तयारीसहित आउन सुझाएको थियो।
नेता सन्तोष बुढामगरले भने सबै आवश्यक कागजात तयार भइसकेको बताए। “पहिले पनि आयोगमा गएका थियौं, तर केही कागजपत्र अपुरो थियो। अहिले वकिलहरुसहित सम्पूर्ण दस्तावेज लिएर बुझाउन जाँदैछौं,” उनले बताए। उनका अनुसार अब आयोगको कानुनी प्रक्रिया पुरा भएपछि पार्टीले आधिकारिक रूपमा दर्ता प्रमाणपत्र पाउनेछ।
विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय संगठन पुनर्गठन, सदस्यता नवीकरण र नीतिगत पुनरावलोकनपछि अब पार्टीले निर्वाचन आयोगमा दर्ता हुने अन्तिम तयारी थालेको बताइन्छ। निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि कात्तिक ३० गतेभित्र सबै राजनीतिक दलले दर्ता प्रमाणपत्र लिइसक्नुपर्ने म्याद तोकेको छ। त्यसैले विप्लव नेकपाले यो समयसीमाभित्र प्रक्रिया पूरा गर्न उच्चस्तरीय तयारी अघि बढाएको हो।
राजनीतिक विश्लेषकहरुका अनुसार दल दर्ता भएपछि विप्लव नेतृत्वको नेकपा दर्ता सँगै आगामी निर्वाचनमा नयाँ समीकरण र गठबन्धनको सम्भावना पनि बढाउने अनुमान गरिएको छ।



प्रतिक्रिया