
बुटवल । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका नर्सहरू सरकारले तोकेको पारिश्रमिक कार्यान्वयनको माग गर्दै सातौं दिनदेखि आन्दोलनमा उत्रिएका छन्। नर्सहरूले “श्रम शोषण बन्द गर”, “महँगो अस्पताल सस्तो नर्स”, “नर्सको सम्मान र अधिकार खै ?” जस्ता नारासहित अस्पताल परिसरमै प्लेकार्ड प्रदर्शन गर्दै विरोध जारी राखेका हुन्।
कात्तिक २ गतेदेखि सुरु भएको आन्दोलन अहिले पनि जारी रहँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुन थालेको बताइएको छ। नेपाल सरकारले २०८१ मंसिर २७ गते स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सेवासरह कायम गर्नुपर्ने निर्णय गरेको थियो।
त्यसअनुसार नर्सहरूको न्यूनतम पारिश्रमिक पाँचौं तहमा रु. ३४ हजार ७३०, र वरिष्ठ पाँचौं तहमा रु. ३७ हजार ७४३ तोकिएको छ। तर, युनिभर्सल अस्पतालले नर्सहरूलाई मात्र १३ देखि १५ हजार रुपैयाँसम्म बेसिक तलब दिने गरेको उनीहरूको आरोप छ।

“हामीलाई अत्यन्तै श्रम शोषण गरिएको छ,” एक आन्दोलनरत नर्सले भनिन्, “अस्पतालका मालिकले करोडौं कमाइ गर्दै नयाँ मेडिकल कलेज खोल्दैछन्, तर कर्मचारीलाई सरकारले तोकेको पारिश्रमिकसम्म दिन तयार छैनन्।” नर्सहरूले असोज ३१ गते आफ्ना मागसहित अस्पताल प्रशासनमा ज्ञापनपत्र बुझाएका थिए। त्यसपश्चात एकपटक वार्ता भए पनि माग सम्बोधन गर्न नसकिने ठाडो जवाफ पाएपछि उनीहरूले कात्तिक २ गतेदेखि आन्दोलन थालेका हुन्।
अहिले करिब दुई सयभन्दा बढी नर्स र प्यारामेडिक्स आन्दोलनमा सहभागी छन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। अस्पताल प्रशासनले हालसम्म कुनै ठोस प्रतिक्रिया नदिँदा नर्सहरूको आक्रोश अझ बढ्दो क्रममा छ।
“हामी अस्पतालका स्टाफ नर्स हौं, सरकारले तोकेको दररेट पाउन हाम्रो अधिकार हो,” अर्को नर्सले भनिन्, “हामीलाई सम्मानपूर्वक तलब नदिएसम्म आन्दोलन रोकिँदैन।”



प्रतिक्रिया