
धनगढी । कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। मृतकमध्ये दुई जना जुम्ल्याहा दिदीबहिनी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार शुक्रबार दिउँसो जानकी गाउँपालिका–१ स्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर तीन बालिकाको ज्यान गएको हो।
मृतकहरूमा लम्कीचुहा नगरपालिका–३ बस्ने १२ वर्षीया डम्मरा उपाध्याय र जानकी गाउँपालिका–१ बस्ने १० वर्षीया जुम्ल्याहा दिदीबहिनी मानसी बजगाई र निशा बजगाई रहेका छन्। जोशीका अनुसार नहरमा डुबेका तीनै जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी टीकापुर अस्पताल लगिएको थियो, तर उपचारका क्रममा सबैको मृत्यु भयो।
तीनै बालिकाको शव हाल अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया