काठमाडौं । जेनजी युवाको आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि पहिलोपटक सार्वजनिक हुँदैछन्। उनी आज दिउँसो बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुँदै सार्वजनिक रूपमा देखिन लागेका हुन्।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश समितिका सभापतिहरूलाई पनि उपस्थित हुन भनिएको छ।
जेनजी आन्दोलनको घटनापछि लामो उपचार
गत भदौ २३ गतेको जेनजी युवा आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण भएको थियो। आक्रमणका क्रममा देउवा दम्पत्ति कुटपिटमा परेका र निवासमा आगजनी समेत भएको थियो।
सोही घटनामा घाइते भएका देउवा लामो समय अस्पतालमा उपचार गरी पछिल्ला दिनमा आफन्तको निवासमा विश्राम गरिरहेका थिए। आज उनी पहिलोपटक पार्टी गतिविधिमा सहभागी हुँदैछन्।
बैठकमा महाधिवेशनको एजेण्डा मुख्य
केन्द्रीय कार्यसमिति बैठकअघि आज बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्नेछ। सो बैठकले केन्द्रीय समितिमा पेस गर्नुपर्ने साझा एजेण्डा तय गर्नेछ।
तर, मंसिरभित्र १५औं महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने भन्ने महासचिवद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानमा संस्थापन पक्ष सहमत हुन नसकेकाले साझा एजेण्डा तय हुन बाँकी रहेको स्रोतले जनाएको छ।
प्रतिक्रिया