काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मकवानपुरबाट ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको हो। यस्तो विषादीको मात्रा अत्यधिक भएकाले उक्त खुर्सानी उपभोगका लागि अयोग्य रहेको समितिले जनाएको छ।
यसअघि पनि बिहीबार कालीमाटी बजारमै बिक्रीका लागि ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौँलामा समेत अत्यधिक विषादी भेटिएको थियो।
केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी बजारका १५ पसलबाट संकलन गरिएका १५ थरी तरकारी तथा फलफूलको नमुना परीक्षण गरेको थियो। परीक्षणमा अकबरे खुर्सानीमा मापदण्डभन्दा धेरै विषादी पाइएको हो।
सरकारको मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी भएको तरकारी मात्र उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म विषादी भेटिए केही दिन राखेर मात्रै खान मिल्ने, र ४५ प्रतिशतभन्दा बढी भेटिए उपभोगका लागि पूर्ण रूपमा निषेधित हुने व्यवस्था छ।
अघिल्लो असार महिनाको अन्त्यतिर पनि रायो साग र घिउसिमीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो, जसले बजारमा आउने तरकारीको सुरक्षामाथि प्रश्न उठाएको छ।
प्रतिक्रिया