विराटनगर । जिल्ला कारागार मोरङमा एकजना बन्दीको मृत्यु भएको छ । शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो ।
कारागार प्रशासनका अनुसार सार्की लागुऔषध मुद्दाका बन्दी हुन् । जिल्ला अदालत मोरङले उनलाई २०८१ पुस २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनीमाथिको मुद्दा अझै विचाराधीन अवस्थामै रहेको बताइएको छ ।
जेलर गौरव ढुंगेलका अनुसार सार्कीलाई शनिबार दिउँसो न्यून रक्तचाप र बान्ता हुने समस्या देखिएपछि उपचारका लागि कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । तर अस्पताल पुगेको केही समयमै चिकित्सकले उनलाई मृत घोषित गरेको ढुंगेलले जानकारी दिए ।
मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ ।
प्रतिक्रिया