काठमाडौं । देशभरका विभिन्न क्षेत्रमा निरन्तर वर्षासँगै आएका बाढी र पहिरोका कारण अझै चारवटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेका छन्। नेपाल प्रहरीले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, अझै पनि पूर्वदेखि पश्चिमसम्मका मुख्य यातायात मार्गहरूमा आवागमन रोकिएको छ।
प्रहरीका अनुसार, सङ्खुवासभाको भोटेखोला गाउँपालिकास्थित वरुण नदीले डाइभर्सन बगाउँदा कोशी राजमार्ग जेठ ६ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध भएको हो। त्यस्तै, मकालु गाउँपालिका–३, एकुवा क्षेत्रमा अविरल वर्षाले पुनः ठूला पहिरो गएपछि सो राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन।
पूर्वको अर्को मुख्य मार्ग मेची राजमार्ग पनि इलाम नगरपालिका–९, राजदुवालीलगायत स्थानहरूमा पहिरो खसेपछि अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यसैगरी, रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ र ३ मा बाढी र पहिरोका कारण पासाङल्हामु राजमार्ग पूर्ण रूपमा बन्द छ। यस सडकखण्ड अवरुद्ध हुँदा रसुवा हुँदै चीनसँगको व्यापारिक नाकामा आवागमन प्रभावित भएको छ।
यस्तै, काभ्रेको रोशी गाउँपालिका–११ माम्तीखोला, डालाबेसी र बुल्ढुंगा क्षेत्रमा पहिरो गएपछि बीपी राजमार्ग एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको विवरणमा उल्लेख छ। नेपाल प्रहरीका अनुसार, सम्बन्धित स्थानहरूमा सडक खुलाउने प्रयास जारी छ। तर निरन्तर वर्षा र चिप्लो भू–भागका कारण उद्धार र मर्मत कार्यमा कठिनाइ भइरहेको बताइएको छ।
प्रहरीले यात्रुहरूलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग रोज्न आग्रह गरेको छ। यातायात अवरुद्ध हुँदा स्थानीयवासी, विद्यालय र आपूर्तिसम्बन्धी सेवामा पनि असर परेको स्थानीय प्रशासनले जनाएको छ।
प्रतिक्रिया