काठमाडौं । भारतको जयपुरस्थित सावई मान सिंह (एसएमएस) सरकारी अस्पतालको ट्रमा सेन्टरमा आइतबार राति भीषण आगलागी हुँदा ६ जनाको ज्यान गएको छ। आगलागीका कारण न्युरो आइसीयूमा रहेका बिरामीहरू जलेर र धुवाँको असरले श्वासप्रश्वास रोकिएर मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार आगलागी आइसीयूको स्टोरेज सेक्शनबाट सुरु भएको हो। प्रारम्भिक अनुसन्धानमा विद्युतीय सर्टसर्किट नै आगलागीको मुख्य कारण रहेको अनुमान गरिएको छ। एसएमएस अस्पताल राजस्थानको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था हो। ट्रमा सेन्टर भवन टोक रोडमा अवस्थित मुख्य अस्पतालको ठीक अगाडि रहेको छ, र आगलागी दोस्रो तल्लामा भएको बताइएको छ।
६ जनाको मृत्यु, अन्य बिरामीको उद्धार
‘द हिन्दु’का अनुसार सेन्टरका इन्चार्ज डा. अनुराग धाकडले बताएका छन् कि न्युरोसर्जरी आइसीयूमा ११ जना गम्भीर बिरामीको उपचार भइरहेको थियो, र सोही तलामा अर्को आइसीयूमा १४ जना बिरामी भर्ना थिए। न्युरो आइसीयूमा रहेका २ महिला र ४ पुरुष गरी ६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
बाँकी बिरामीहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूले उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। धुवाँ अत्यधिक फैलिँदा अस्पतालमा त्रास र अफरातफरी मच्चिएको थियो। स्वास्थ्यकर्मी र बिरामीका आफन्तहरूले बेडसहित बिरामीहरूलाई भवनबाहिर निकालेका थिए।
दुई घण्टापछि आगो नियन्त्रणमा
दमकलका गाडी घटनास्थलमा पुगेपछि विपरीत दिशाबाट झ्याल तोडेर आगो निभाउने काम गरिएको थियो। करिब दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको प्रहरीको भनाइ छ। बाक्लो धुवाँका कारण सुरुवाती समयमा प्रहरी र दमकल कर्मचारीहरू भवनभित्र पस्न सकेका थिएनन्।
लापरबाहीको आरोपमा प्रदर्शन
मृतकका आफन्तहरूले सोमबार अस्पताल बाहिर प्रदर्शन गर्दै अस्पताल प्रशासन र राज्य सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले आगो निभाउने उपकरणको अभाव र प्रशासनिक लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्।
प्रतिक्रिया