• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    इमरान खान दम्पतीलाई अदालतले तोक्यो १७–१७ वर्ष जेल सजाय

    216
    SHARES

    काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ ।

    तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार २० डिसेम्बरको दिन अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो । १७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ ।

    यो फैसला रावलपिण्डीस्थित अडियाला जेलमै बसेको विशेष अदालतले सुनाएको हो । इमरान खान हाल यही जेलमा थुनामा छन् ।

    यो मुद्दा के हो ?

    उनीहरूलाई देशले प्राप्त गरेका उपहार खरिद गर्दा अनियमितता गरेको आरोप छ । पाकिस्तानमा तोशाखाना प्रणालीअन्तर्गत विदेशबाट प्राप्त उपहारहरू राज्यको खजानामा बुझाउनुपर्ने वा तोकिएको मूल्य तिरेर खरिद गर्नुपर्ने व्यवस्था छ ।

    आरोप अनुसार, इमरान खान र बुशरा बीबीले २०२१ मा साउदी युवराजबाट प्राप्त बुलगारी ब्रान्डको आभूषण सेट अत्यन्तै कम मूल्यमा खरिद गरेका थिए ।

    अभियोजन पक्षका अनुसार करिब ३ लाख ८० हजार युरो मूल्य पर्ने उक्त सेट उनीहरूले करिब २९ लाख पाकिस्तानी रुपैयाँमै लिएका थिए, जसका कारण सरकारी ढुकुटीमा करोडौं रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ ।

    फैसला सुनाउने न्यायाधीश शाहरुख अर्जुमन्दले दुवैलाई विश्वासघातको अभियोगमा १०–१० वर्षको कठोर कारावास र भ्रष्टाचार निवारण ऐनअन्तर्गत थप ७–७ वर्षको सजाय सुनाएका हुन् ।

    उच्च अदालतमा चुनौती दिने तयारी

    इमरान खान र बुशरा बीबीका तर्फबाट वकिलहरूले तुरुन्तै उच्च अदालतमा अपिल गर्ने बताएका छन् । उनीहरूको भनाइमा यो मुद्दा ‘राजनीतिक रूपमा प्रेरित’ र ‘आधारहीन’ छ ।

    पाकिस्तानलाई क्रिकेट विश्वकप जिताउने टोलीका कप्तान रहिसकेका इमरान खान सन् २०१८ देखि २०२२ सम्म देशका प्रधानमन्त्री थिए । राजनीतिमा उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले व्यापक लोकप्रियता कमाएको थियो । तर अप्रिल २०२२ मा अविश्वास प्रस्तावमार्फत उनी सत्ता बाहिरिएका थिए । त्यसयता उनी यो तोशाखाना मुद्दासहित थुप्रै कानुनी मुद्दाको सामना गर्दै आएका छन् ।

    इमरान खानको पार्टी पीटीआईले यस फैसलालाई राजनीतिक आक्रमणको संज्ञा दिएको छ र सेना तथा विपक्षी शक्तिहरूले मिलेर उनलाई राजनीतिबाट अलग गर्न षड्यन्त्र रचेको आरोप लगाएको छ । अदालतले जरिवाना नतिरे जेल सजाय थपिने चेतावनी पनि दिएको छ ।

    यसबीच पीटीआईका समर्थकहरूले पाकिस्तानका विभिन्न स्थानमा लगातार प्रदर्शन गरिरहेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ