• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिशूलीको बाढीले २ सय मेगावाट विद्युत् उत्पादन ठप्प, प्रमुख आयोजना प्रभावित

    225
    SHARES

    काठमाडौं । अविरल वर्षासँगै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सरकारी स्वामित्वमा सञ्चालित जलविद्युत् परियोजनाबाट झन्डै २०० मेगावाट विद्युत् आपूर्ति ठप्प भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार यस क्षेत्रमा रहेका प्रमुख आयोजनाहरू पूर्ण वा आंशिकरूपमा बन्द गर्नुपरेको छ।

    रसुवामा अवस्थित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित भएको छ। बाढीले परियोजनाको बाँधको एउटा ढोका बगाएको छ भने आवागमनका लागि निर्माण गरिएको पुल समेत चर्किएको कारण यातायात अवरुद्ध भएको छ। पावरहाउस भने सुरक्षित रहेको बताइएको छ, तर टेलरेसमा बाढीले गेग्रान र बालुवा थुपारेर समस्या निम्त्याएको छ।

    ६० मेगावाट क्षमताको त्रिशूली ३ ए आयोजनामा पनि क्षति भएको आशंका गरिएको छ। आयोजना परिसरमा बाढी पसेको पुष्टि भए पनि हालसम्म सम्पूर्ण मूल्यांकन सकिएको छैन। यससँगै, त्रिशूली ३ बी सबस्टेसन पनि हिलो र गेग्रानले ढाकिएको अवस्था छ।

    चिलिमे जलविद्युत् आयोजनाको पावरहाउससम्म पानी पसेको भए पनि ठूलो क्षति भने नभएको प्रारम्भिक जानकारीमा उल्लेख छ। यद्यपि, त्रिशूली किनार नजिकै रहेको प्रसारण लाइनको एक बाइपास टावर भने बगाएको छ, जसले विद्युत् प्रवाहमा थप समस्या खडा गरिदिएको छ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले त्रिशूली करिडोरभित्रका आयोजनाबाट उत्पादित कुल २०० मेगावाट जति विद्युत् आपूर्ति एकैचोटि बन्द हुन पुगेको जनाएका छन्। हाल समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ