कैलाली । धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरू डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन्। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ । विभागले खतराको सङ्केत नै जारी गरेको हो ।
उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका अधिकांश घरमा पानी पसेपछि स्थानीयहरूको सामानमा क्षति पुगेको छ। वडा नम्बर ८ को शिक्षानगर डुबानको चपेटामा छ। घरभित्र पानी पसेपछि दराज, फ्रिज, लाे बेड, अन्नपात लगायतमा ठुलो क्षति पुगेको छ।
स्थानीय दिनेश बोहराले घरमा सरसामान र अन्नपात क्षति पुगेको बताए। उता धनगढी-१२ पनि पुरै डुबानमा छ। बजारकाे मुख्य सडक पनि डुबानमा छ। सुरक्षाकर्मीले उद्धारकाे काम गरिरहेका छन्।
यस्तै कञ्चनपुर जिल्लाको अधिकांश स्थानमा भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । वर्षाका कारण सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू-भागमा बाढीको जोखिम रहेको महाशाखाले बताएको हो ।
पछिल्लो २४ घण्टामा शान्तिपुर बेलौरी स्टेसनमा २६४.६ मिलिमिटर वर्ष मापन भएको छ । त्यस्तै, कृष्णपुर स्टेसनमा १८४ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाले सोमबार बिहान ११:५० बजे एक सूचना जारी गर्दै मंगलबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न तथा जान अनुरोध गरेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ।
प्रतिक्रिया