काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी छन् । जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।
उनले देश र जनताको सेवा गर्ने उद्देश्यले आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेको जनाइन् । उनले अब आफू नेकपा एमालेको परिवारको सदस्यको रूपमा पुनः जोडिएको घोषणा गर्दै यसमा आफू गर्व गरेको बताइन् ।
‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुन: जोडिएको छु र यसमा म गर्व गर्दछु ।’
जननेता मदन भण्डारीको भनाई स्मरण गर्दै भण्डारीले जनता भगवान र राजनीतिमा थकाई नहुने बताइन् । उनले राजनीतिक यात्रामा यहाँसम्म आउँदा धेरै कुरा बुझिएको, सिकाएको र परिपक्व बनाएको बताइन् ।
‘मदनका सपनाहरू साकार पार्ने दिशामा अग्रसर तपाईंहरूको साथमा म आफू पनि सँगै रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’ उनले भनिन् ।
तत्कालीन एमाले उपाध्यक्ष भण्डारी २०७४ को निर्वाचनपछि राष्ट्रपति बनेसँगै सक्रिय राजनीतिबाट अलग भएकी थिइन् । उनी २०७९ को निर्वाचनपछि सात वर्षे राष्ट्रपति कार्यकाल सकाएर शीतल निवासबाट निजी निवास फर्केकी थिइन् ।
प्रतिक्रिया