• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    आयरल्यान्ड ‘ए’ माथि नेपाल ‘ए’ को तीन रनको रोमाञ्चक जित

    179
    SHARES

    काठमाडौँ । नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ माथि तीन रनको रोमाञ्चक जित हासिल गरेको छ । जारी शृंखलामा नेपालले सोमबार निकालेको यो सान्त्वना जित हो । तीन खेलको टी–२० शृंखला भने आयरल्यान्डले २–१ ले जित्यो । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो ।

    आजको खेलमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन जोड्यो। आयरल्यान्डका ओपनर रोस एडियरले १४ बलमा ३१ रन जोडे भने जेम्स म्याकुलम ४ रन र पिटर मुर २ रनमा आउट भए।

    यस्तै कप्तान निल रकले २ रन मात्र जोड्न सके। तर मोर्गन टपिङ र ग्यारेथ डेलनीले अर्धशतक प्रहार गर्दा आयरल्यान्डले नेपालमाथि दबाब बढाएको थियो। टपिङ ६० रन र डेलनी ६८ रन जोडेर आउट हुँदा नेपाललाई राहत मिलेको थियो।

    अन्तिम ओभरमा आयरल्यान्डलाई २० रन चाहिदा नेपालका रशिद खानविरुद्ध फिन ह्यान्डले पहिलो बलमा छक्का प्रहार गरे। त्यसपछि दोस्रो बलमा दुई रन र तेस्रो बलमा पनि दुई रन लिए। चौथो बलमा चौका प्रहार गर्दा उसलाई दुई बलमा ६ रन चाहिएको थियो। पाँचौ बलमा दुई रन लिने क्रममा ह्यान्ड २२ रन जोडेर आउट भए। जसका कारण अन्तिम बलमा उसलाई जितका लागि पाँच रन चाहिएको थियो। तर रशिद खानविरूद्ध आयरल्यान्डका म्याकार्थीले १ रन मात्र लिन सके।

    बलिङमा नेपालका विपिन खत्रीले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा २३ रन दिए। कमलसिंह ऐरी, रशिद खान र नारायण जोशीले १-१ विकेट लिए। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१३ रन जोड्यो। नेपालले पछिल्लो पाँच ओभरमा ८४ रन जोडेको थियो।

    नेपालका लागि आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे। आरिफले नटआउट ९३ रन जोडे। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट १९ रन जोडे। रशिद खानले १३ बल खेलेर ३ छक्का प्रहार गर्दै २४ रन जोडेका थिए।

    त्यसअघि ओपनरद्वय लोकेश बम ८ रन र देव खनाल ६ रन जोडेर आउट भए। कप्तान विनोद भण्डारीले ११ रन जोड्दा बसिर अहमदले १९ रन बनाए। पवन सर्राफ १३ रन र नारायण जोशी १ रनमा आउट भए। बलिङमा आयरल्यान्डका फिन ह्यान्डले २ विकेट लिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ