काठमाडौं । नेकपा एमालेको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगित गरिएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीका अनुसार बैठक अब आइतबार बिहान ११ बजे बस्नेगरी सारिएको छ। अधिकारीले अध्यक्ष ओलीलाई हाल रुघा–खोकीले सताएको जानकारी दिएका छन्।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा विस्तृत छलफल भएको थियो। सो बैठकले पार्टीभित्र उठेका प्रश्नहरूको जवाफ महाधिवेशनमार्फत खोज्ने र त्यसैको माध्यमबाट पार्टीलाई नयाँ दिशातर्फ लैजाने निष्कर्ष निकालेको थियो।
त्यसैगरी, हिजोको बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे समेत विस्तृत समीक्षा गरिएको थियो। बैठकले हालको परिस्थितिमा राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्दै, राजनीतिक दलहरूलाई निषेध नगरी एकताको साझा वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने निष्कर्ष निकालेको थियो।
अध्यक्ष ओलीको स्वास्थ्य सामान्य रहेको र आइतबारको बैठकमा सहभागी हुने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ।
प्रतिक्रिया