काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले रुपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने भएको छ । कात्तिक १७ मा हुने उपनिर्वाचनमा अन्य दलसँग चुनावी गठबन्धन नगर्ने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले अन्य दलको उम्मेदवारलाई समर्थन नगर्ने जानकारी गराए ।
साथै अन्य दललाई समर्थन नगर्ने माओवादी केन्द्रको बटमलाइन रहेको जिसीले बताए । यसअघिका दुई निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार यस क्षेत्रमा थिएनन् ।
गत दुई निर्वाचनमा माओवादी केन्द्रका मतदाताले हसिँया हथौडामा मत दिन नपाएको भन्दै उनले हसियाँ हथौडामा नै मत दिन पाउनुपर्ने कुरा केन्द्रलाई भनेको बताए ।
राप्रपाबाट निर्वाचित दीपक बोहराको निधन भएको हुँदा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको छ । उपनिर्वाचनका लागि दलहरू र स्वतन्त्र उम्मेदवारहरूले प्रचार सुरु समेत गरिसकेका छन् ।
मुख्य दलहरूमा एमालेबाट उम्मेदवार हुनका लािग चार आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिएको छ । रास्वपाले आकांक्षी ९ बाट भदौ १५ गते उम्मेदवार छनोट गर्ने भएको छ । कांग्रेसले तल्लो तहबाट नाम सिफारिस गर्न परिपत्र गरिसकेको छैन ।
प्रतिक्रिया