
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठकबाट गरिएको विधान संशोधनको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यसले विधान अधिवेशनको औचित्यमाथि नै प्रश्न उठाएको बताएका छन्।
पाण्डेले हालै सम्पन्न विधान अधिवेशनबाट तय गरिएका निर्णयलाई उल्ट्याउने प्रयास गरिएको भन्दै असन्तोष व्यक्त गरे। “के हाम्रा विधानहरू अस्थायी हुन्? हिजो विधान अधिवेशनअघि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने—यो सरासर मनपरी होइन भने के हो?” भन्दै उनले प्रश्न गरेका छन्।
उनले पार्टीभित्र विधि, विधान र प्रक्रियाको पालना अनिवार्य रहेको उल्लेख गर्दै त्यसविपरीत गरिने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट पारे। “अहिले आएर दाँया–बाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ। यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ,” पाण्डेले बताएका छन्।
एमालेको दशौँ महाधिवेशनबाट गठन भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो। गत भदौमा सम्पन्न विधान अधिवेशनले पदाधिकारी संख्या १५ र केन्द्रीय कमिटी सदस्य संख्या २५१ कायम गर्ने निर्णय गरेको थियो।
यद्यपि उक्त निर्णय यथावत् राखिने बताउँदै आएको एमाले नेतृत्वले अन्तिम समयमा विधान संशोधनको तयारी गरेपछि पार्टीभित्र असन्तोष चुलिँदै गएको देखिएको छ।



प्रतिक्रिया