
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा देखिएको विवाद डेढ महिनापछि टुंगिएको छ । सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठक सुरु गर्दै लिखित मन्तव्य दिएर सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित आफ्नै निवासमा देउवा मरणासन्त हुनेगरी कुटिएका थिए । पछि स्वास्थ्यको कारण देखाएर खड्कालाई कार्यवाहक दिए पनि महाधिवेशनको विवाद मिलाउन अदृष्य रूपमा उनी आफै सक्रिय बन्नुपर्यो ।
असोज २८ देखि मंसिर १५ गतेसम्म १३ दिन बसेको बैठकमा महाधिवेशनमा पक्ष–विपक्षमा नेताहरूले धारणा राखे । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्ने र निर्वाचनपछि महाधिवेशन गर्ने भन्ने विवादले केन्द्रीय कार्यसमिति बैठकमा दुई कार्यतालिका प्रस्तुत भए ।
कात्तिक १९ गतेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरे । त्यसैदिन उनलाई काउन्टर दिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरे ।
थापाको कार्यतालिकालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र इतर समूहका केही नेताले समर्थन गरे भने यादवको कार्यतालिकालाई संस्थापन समूहका नेताहरूले समर्थन गरे ।
दुवै पक्षले एक अर्कालाई घोचपेच सुरु गरेपछि कार्यवाहक सभापति खड्काले थापा र यादवका कार्यतालिका व्यक्तिगत भएको केन्द्रीय समिति बैठकमा स्पष्टीकरण नै दिनुपर्यो । कात्तिक २० गतेको बैठकमा खड्काले दुवै कार्यतालिका व्यक्तिगत भएको प्रष्टिकरण दिएका थिए ।
त्यही विवादमा सहमति जुटाउन भन्दै केन्द्रीय कार्यसमिति बैठक बोलाउँदै सूचना टाँसेर स्थगित नै ८ पटक गरियो । खड्काले कार्यसम्पादन समिति पदाधिकारी र निर्वाचन अगाडि र पछाडि महाधिवेशन गर्नुपर्छ भन्नेसँग पटक–पटक छलफल गरे । तर पार लगाउन सकेनन् ।
खड्काबाट पार लाग्ने अवस्था नदेखेपछि कार्यवाहक दिएका सभापति ‘अनसिन’मा सक्रिय भए । गत बिहीबारदेखि सक्रिय भएका देउवाले पटक–पटकका छलफल पछि नेताहरूलाई मनाएर सोमबार बसेको बैठकमा आगामी पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका आएको छ । देउवाले दुवै पक्षलाई राखेर मध्यमार्गी प्रस्ताव ल्याएर त्यसमा सहमत हुन सबैलाई निर्देशन दिएका थिए ।



प्रतिक्रिया