
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै सिंहदरबार छिर्न खोजेको जेन-जी समूहलाई प्रहरीले फर्काइदिएको छ । मंगलबार मिराज ढुंगानासहितको जेन-जी समूह सिंहदरबार छिर्न खोजेको थियो ।
तर निषेधित क्षेत्र भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले निषेधित क्षेत्रमा ६० भन्दा बढीको संख्यामा प्रवेश गर्न खोजेकाले उनीहरूलाई हटाइएको बताए ।
प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफन्त नियुक्त गरेको भन्दै विभिन्न जेन–जी समूहले विरोध जनाएका छन् ।
जेन–जीहरू सोमबार ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री कार्यालय पनि पुगेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जेन–जी पुगेपछि कार्की बाहिरिएकी थिइन् ।
मिराज ढुंगानालगायतका जेन–जीको समूहले पनि प्रमुख स्वकीय सचिवसहितका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन खोजेको थियो । तर, प्रधानमन्त्रीले समय नदिएको भन्दै सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरू गेटमा नै ज्ञापनपत्र टाँसेर फर्किएका थिए ।



प्रतिक्रिया