धनगढी । डोटीमा यात्रुवाहक गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। अछामबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९५६ नम्बरको बस आज बिहान भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा दुर्घटनामा परेको हो।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए अनुसार, दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परेका ६ बालबालिकासहित २१ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको र सबै घाइतेलाई उपचारका लागि धनगढीस्थित अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान जारी रहेको र चालकसहित अन्य विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीका अनुसार सडक घुमाउरो र चिप्लो भएकाले गाडी नियन्त्रण गुमेर सडक छेउमा खसेको हुनसक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया