
काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच छलफल जारी छ। ललितपुरको ज्वागलस्थित कुमार बेनको घरमा बालेन र कुलमानबीच छलफल भइरहेको उनीहरूं निकट नेताहरूले जानकारी दिएका छन्।
बालेन र कुलमान एक भएर देश विकास पार्टी अघि बढाउने सम्बन्धमा यसअघि नै लगभग सहमति जुटिसकेको थियो। पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पनि एक भएर जाने विषयमा घनिभूत छलफल चलेको थियो।
त्यसबारेमा सहमति जुटाउनका लागि ज्वागलमा बालेनसँग रास्वपा सभापति रवि लामिछाने र मन्त्री कुलमान घिसिङले छुट्टाछुट्टै भेटवार्ता गर्दै आएका छन्।
यद्यपि सांगठनिक संरचनाको विषयमा बालेन र रविबीच कुरा मिलिनसकेको रास्वपा निकट एक नेताले बताए। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार र पार्टीमा रविपछिको वरीयता प्रस्ताव गरेको थियो।
उसले आधारभूत तहसम्म पार्टीको संगठन भएको, संसदीय अनुभव पनि हासिल गरिसकेको बताउँदै सांगठनिक संरचनामा रास्वपाको हिस्सेदारी प्रमुख हुनुपर्ने प्रस्ताव गरेको थियो।
यसमा बालेन सहमत छैनन्। सिके राउत लगायत अरू दलबाट आउने नेता कार्यकर्तालाई पनि समेटेर लैजाँदा पार्टी बृहत्तर बन्ने भएकाले रास्वपाको प्रस्तावमा बालेन सहमत हुन नसकेको उनीनिकट स्रोत बताउँछ। त्यसकारण छलफल सकारात्मक हुन सकेको छैन।
कुलमान र बालेन भने मिलेर जाने निश्चितकरिब छ। उनीहरूबीच भइरहेको छलफलबाट ठोस निर्णय हुने स्रोतले बताएको छ।



प्रतिक्रिया