काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेकपा (एमाले) सम्बद्ध युवा संघ नेपाललाई शनिबार आयोजना गर्न लागेको मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलले सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेका हुन्।
सूचनामा भनिएको छ, “विभिन्न समूहबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिले सुरक्षा चुनौती बढाउने र आम नागरिकको सुरक्षामा जटिलता सिर्जना गर्न सक्ने भएकाले त्यस्ता कार्यक्रमका लागि स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ।”
पौडेलले पूर्व स्वीकृति विना कुनै पनि प्रकारका सभा, जुलुस वा प्रदर्शन नगर्न नगराउन समेत आग्रह गरेका छन्। युवा संघ नेपालले शनिबार काठमाडौँमा मोटरसाइकल र्याली र शक्ति प्रदर्शन गर्ने घोषणा गरेको थियो। सो र्यालीमा हजारौं कार्यकर्ता सहभागी हुने तयारी थियो।
जिल्ला प्रशासनको निर्देशनसँगै अब उक्त र्याली र सभालाई कानूनी स्वीकृति नपाउने भएको छ। प्रशासनले राजधानीमा शान्ति सुरक्षा र नागरिकको सहज आवागमनमा बाधा नपुगोस् भनेर यस्तो कदम उठाएको जनाएको छ।
प्रतिक्रिया