• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एकताका लागि माधव र विप्लवको पार्टी निर्णय कुर्दै माओवादी केन्द्र

    364
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी एकताका लागि नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को संस्थागत निर्णय कुर्दै बसेको छ। पछिल्ला चरणबद्ध छलफलपछि माओवादी केन्द्रले दुवै पार्टीको आधिकारिक निर्णय आएपछि मात्र सचिवालय बैठक बस्ने र औपचारिक एकता प्रक्रिया अघि बढाउने तयारी गरेको हो।

    माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक असोज २० गते बसेको थियो, जसमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी, नेकपा (विप्लव) र नेपाल समाजवादी पार्टीसँग (नेसपा) एकताको पहल भइरहेको जानकारी गराएका थिए।

    माओवादी केन्द्रका सचिवालय सदस्य गिरिराजमणि पोखरेलका अनुसार, एकीकृत समाजवादी र नेकपा (विप्लव) दुवैले यस विषयमा संस्थागत निर्णय गर्न आफ्ना–आफ्ना बैठक बोलाएका छन्। “माधवजीले सचिवालय बैठक र विप्लवजीले स्थायी समिति तथा केन्द्रीय समिति बैठक बोलाउनु भएको छ। उनीहरूको निर्णय आएपछि हाम्रो बैठक बस्नेछ,” पोखरेलले भने।

    उनका अनुसार, एकीकृत समाजवादीसँगको एकता पहल अपेक्षाकृत सकारात्मक र द्रुत गतिमा अघि बढिरहेको छ। तर, विप्लव समूहभित्र नेतृत्व संरचनाबारे मतभेद देखिएकाले छलफल अलि जटिल बनेको जनाइएको छ।
    “विप्लव पक्षले पुरानो नेतृत्व संरचना विस्थापित गरेर नयाँ कम्युनिस्ट केन्द्र बनाउने प्रस्ताव राखेकाले केही मतभेद उत्पन्न भएको हो,” पोखरेलले बताए।

    जेनजी विद्रोहपछि बनेको नयाँ राजनीतिक परिदृश्यलाई मूल्याङ्कन गर्दै प्रचण्डले पार्टी एकता र वाम ध्रुवीकरणका लागि माधवकुमार नेपाल, नेत्रविक्रम चन्द, अशोक राई, महेन्द्र यादव, प्रेमबहादुर सिंहलगायत नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन्। यही कारण माओवादी केन्द्रले सचिवालय बैठकलाई हालका लागि स्थगित गरेको छ।

    माओवादीका एक पूर्वपदाधिकारीका अनुसार, संक्रमणकालीन अवस्थालाई ध्यानमा राख्दै संयुक्त पार्टीमा संयोजक र सह–संयोजकको व्यवस्था गर्नेबारे माओवादी र एकीकृत समाजवादीबीच सहमति नजिकिएको छ। पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने र नाम ‘नेकपा (समाजवादी केन्द्र)’ राख्ने प्रस्तावमा पनि सहमति देखिएको बताइएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ