काभ्रेपलाञ्चोक । गत शुक्रबारदेखि आइतबारसम्म परेको अविरल वर्षापछिको बाढी–पहिरोले काभ्रेका चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन्। सडक र विद्युत् दुबै अवरुद्ध भएपछि ती क्षेत्रका कतिपय गाउँमा सञ्चार सम्पर्क समेत विच्छेद भएको छ भने आवतजावत ठप्प भएको छ।
जिल्लाको खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका जाने प्रमुख सडकहरू पहिरोले थुनिएपछि जनजीवन प्रभावित बनेको हो। स्थानीय तहहरूले सोमबारदेखि आवश्यक उपकरणसहित सडक खुलाउने कार्य सुरु गरेका छन्।
बाढीपहिरोले अति विकट महाभारत पर्वत श्रृङ्खलापारीका दुई गाउँपालिका-खानीखोला र महाभारत-गम्भीररूपमा प्रभावित भएका छन्। दुबै गाउँपालिका जाने सडक पूर्ण रूपमा बन्द छन्। महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गाउँपालिका कार्यालय जाने मुख्य सडकसहित विभिन्न वडाहरूमा पुग्ने सबै बाटो अवरुद्ध छन्।
“यी क्षतिग्रस्त सडक पुनः सञ्चालनमा ल्याउन हप्ता दिनभन्दा बढी लाग्न सक्छ,” उनले बताए, “विद्युत् सेवा समेत अवरुद्ध भएकाले दुवै सेवा पुनः सुरु गर्ने योजना बनाइरहेका छौं।” उनका अनुसार मुख्य बिपी राजमार्गसँग जोडिएका चौकीडाँडा–सिपाली, पिन्थली–रजवास, मंगलटार–डाडाँखर्क र पिप्ले–भीमखोरी सडक खण्ड सबै अवरुद्ध छन्।
यस्तै, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार त्यहाँ जाने सबै सडक अवरुद्ध भएकाले मर्मतका लागि भारी उपकरण प्रयोग गर्न थालेका छन्। “सडक बन्द हुँदा इन्धन अभावले काममा केही कठिनाइ छ, तर हामी प्रयासरत छौं,” उनले भने, “एक–दुई दिनमै विद्युत् सेवा पुनः सञ्चालनका लागि जनशक्ति खटाइएको छ।”
रोशी गाउँपालिका अन्तर्गत बिपी राजमार्गसँग जोडिएका सडकहरूमा पनि अस्थायी डाइभर्सन कटान भएपछि विभिन्न वडासम्म पुग्ने बाटो बन्द भएका छन्। गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार चौकीडाँडा र घुमाउने सडक खुलाउनासाथ मात्र गाउँपालिका केन्द्र पुनः सञ्जालमा जोडिनेछ।
“रोशीमा विद्युत् सेवा आंशिक रूपमा अवरुद्ध छ, छिट्टै पूर्ण रूपमा पुनःस्थापना गर्ने प्रयास भइरहेको छ,” उनले बताए। यसैगरी, बेथानचोक गाउँपालिकामा पनि आइतबारदेखि अवरुद्ध सडक खुलाउने काम सुरु भएको छ। गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार मुख्य सडकलाई प्राथमिकता दिई मेसिन परिचालन गरिएको छ।
बाढीपहिरोका कारण जिल्लामा हालसम्म दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। साथै सडक, पुल, विद्युत् लाइन, आवास र निजी भौतिक संरचनामा ठूलो क्षति पुगेको बताइएको छ।
प्रतिक्रिया