काठमाडौं । अविरल वर्षाका कारण पटक–पटक पहिरो खसेर अवरुद्ध हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान ६ बजेदेखि सवारीसाधन आवागमनका लागि बाटो खुला गरिएको हो ।
प्रहरीले दिएको जानकारीअनुसार बिहान ६ बजेसम्म उक्त सडकखण्डमा कुनै अवरोध नरहेको भए पनि सडक कमजोर र चिप्लो भएकाले यात्रु तथा चालकलाई सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको छ ।
गत असोज १७ र १८ गते परेको अविरल वर्षाका कारण उक्त सडकखण्डका विभिन्न भागमा पहिरो खसेर आवागमन अवरुद्ध भएको थियो । अहिले पनि सडकछेउका भित्ताहरू भिजेका र अस्थिर रहेकोले कुनै पनि बेला ढुंगा वा माटो खस्न सक्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, राति ९ बजेपछि चितवन प्रवेश गर्ने सवारीसाधनलाई रोक्ने व्यवस्था यथावत् रहनेछ । यात्रु तथा चालकहरुलाई बेलुका ९ बजेभित्र चितवन आइपुग्ने वा निस्किने गरी यात्रा तालिका मिलाउन आग्रह गरिएको छ ।
हिजो बेलुका ९ बजेपछि चितवन आइपुगेका सवारीसाधनहरूलाई प्रहरीले आँपटारी क्षेत्रमा रातभर रोकेर आज बिहान बाटो खुल्नेबित्तिकै गन्तव्यतर्फ पठाएको जनाएको छ ।
सडक डिभिजन कार्यालयका इन्जिनियरका अनुसार, नारायणगढ–मुग्लिन सडकखण्डमा अहिले पनि स–साना पहिरो र ढुंगा खस्ने क्रम जारी छ । वर्षा अझै केही दिनसम्म हुने सम्भावना भएकाले आवश्यक परे फेरि अस्थायी रूपमा बाटो बन्द गर्न सकिने बताइएको छ ।
प्रतिक्रिया