काठमाडौं । लगातारको वर्षासँगै धादिङतर्फको मुख्य प्रवेशद्वार नागढुंगा–मुग्लिन सडकखण्डमा विभिन्न स्थानमा पहिरो खसेपछि प्रहरीले सवारी आवागमन रोक्दै यात्रुहरूलाई काठमाडौं फर्काएको छ।
शनिबार बिहानदेखि परेको अविरल वर्षाका कारण सडकमा ठूल्ठूला ढुंगामाटो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको हो। यसपछि प्रहरीले नागढुंगा चेकपोस्टमा माइकिङ गर्दै “सडक तत्काल खुल्ने अवस्था छैन, कृपया यात्रामा ननिस्कनुहोस्” भन्दै सवारी साधनहरूलाई फर्कन आग्रह गरेको थियो।
प्रहरीको अनुरोधपछि नागढुंगामा रोकिएका सयौं सवारी साधन फर्कन थालेका छन्। नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका प्रमुखका अनुसार, बिहान साढे ९ बजेसम्म मात्रै करिब दुई सयभन्दा बढी गाडी काठमाडौं फर्किसकेका छन्। अझै पनि धेरै सवारी नागढुंगाको वरिपरि रोकिएका छन्।
प्रहरीले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै सवारी आवागमन नियन्त्रण गरिएको जनाएको छ। “हाम्रो अनुरोधलाई सकारात्मक रूपमा लिएर फर्कनुभएका सम्पूर्ण यात्रु, चालक र सहचालकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं,”
प्रहरीको माइकिङ सन्देशमा भनिएको छ, “तपाईंहरूको सुरक्षा हाम्रो जिम्मेवारी हो।”
सडक विभागका अनुसार, धादिङतर्फको सडकका थुप्रै स्थानमा पहिरो खसेकाले तत्काल मर्मत सम्भव छैन। डोजर परिचालन गरेर माटो हटाउने प्रयास भइरहेको भए पनि लगातार वर्षाले कठिनाइ बढाएको बताइएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं छाडेर पश्चिम र मध्य क्षेत्रतर्फ गइरहेका यात्रुहरू काठमाडौंमै अड्किएका छन्। कतिपय यात्रुहरू फेरि बुकिङ गरेर यात्रा स्थगित गर्न बाध्य भएका छन्।
ट्राफिक प्रहरीले सडक सुचारु भएपछि मात्र यात्रा सुरु गर्न आग्रह गर्दै जनाएको छ- “आफ्नो तथा अरूको जीवनको सुरक्षालाई ध्यानमा राखी अनावश्यक जोखिम नलिनुहोस्, सडक खुल्ने बित्तिकै जानकारी गराइनेछ।”
प्रतिक्रिया