काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैं आज देश–विदेशमा आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गर्दै हर्षोल्लासका साथ मनाइँदै छ ।
दशैंमा पूजाकोठा वा घरमा घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवी दुर्गाको प्रसादका रूपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने परम्परा रहँदै आएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दशैं आफैंमा शुभ दिन भएकाले सर्वसाधारणले टीका थाप्न साइत कुर्नु पर्दैन ।
समितिले आज बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम साइत तोकेको थियो । तर समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका भनाइमा त्यो समय बितिसके पनि आज दिनभर नै टीका लगाउन सकिन्छ ।
“दशैंको बिहानदेखि अपराह्नसम्म सम्पूर्ण समय शुभ हुन्छ, त्यसैले अहिले पनि टीका लगाउन कुनै असाइत मानिँदैन,” उनले स्पष्ट पारे ।
समितिले परम्परागत अभ्यासअनुसार टीका दिनेले पश्चिम फर्किनुपर्ने र टीका लिनेले पूर्व फर्किनुपर्ने प्रचलनबारे पनि जानकारी दिएको छ ।
परम्पराअनुसार गुरुपुरोहित भए उनीमार्फत, नभए घरका ज्येष्ठ सदस्य वा अन्य मान्यजनको हातबाट टीका–जमरा लगाइन्छ । त्यसपछि मात्रै अन्य आफन्त तथा मान्यजन कहाँ गई टीका–आशीर्वाद ग्रहण गर्ने चलन छ ।
यसरी, बिहान तोकिएको साइत सकिए पनि घर–घरमा अझै दिनभर बडादशैंको रमाइलो र टीकाको माहोल निरन्तर चलिरहेको छ ।
प्रतिक्रिया